कोइराला सन्तानको बिँडो थाम्न शशांकलाई अघि बढ्न दबाब

Posted on: April 30, 2016 | views: 148

१९ फागुन, काठमाडौं । कांग्रेसको तेह्रौं महाधिवेशनको ४८ घण्टामात्रै बाँकी छँदा नेतृत्वका लागि बहुकोणीय प्रतिस्पर्धा निश्चित देखिएको छ ।

संस्थापनभित्रै विभिन्न दाबेदारीहरुबीच एकमत बन्न नसकेपछि अहिलेसम्म कमसेकम तीनजना संस्थापनबाट र अर्को पक्षबाट शेरबहादुर देउवा सभापतिको अम्मेदवार हुने सम्भावना देखिएको आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

संस्थापनबाट साझा उम्मेदवार खडा गर्ने प्रयास मंगलबार विफल भए पनि बुधबारसम्म प्रयास जारी रहने कांग्रेस स्रोतले जनाएको छ ।

कार्यवहाक सभापति रामचन्द्र पौडेलले बुधबार अपरान्ह ४ बजे पार्टी केन्द्रीय कार्यलय सानेपाबाट सभापतिको उम्मेदवारी घोषणा गर्ने कार्यक्रम राखेका छन् । उनको प्यानलको महामन्त्रीमा शशांक कोइराला उठ्ने टुंगो लागेको छ । कोषध्यक्षमा निर्णय हुन सकेको छैन ।

तर, शशांकले सोमबार धर्म निरपेक्षता, गणतन्त्र र संघीयताबारे पुनर्विचार गर्न आग्रह गरेपछि महाधिवेशनको पूर्वसन्ध्यामा सिद्धान्त र नीतिगत विषयमा समेत छलफल गरी त्यसका आधारमा मात्र उम्मेदवार घोषणा गरिनुपर्ने अडान केही नेताहरुले लिएका छन् ।

महाराजगन्जमा महामन्त्री कृष्ण सिटौलाबाहेक संस्थापन पक्षका अन्य शीर्षस्थ नेताहरुबीच भएको बैठकमा आफूले उठाएको मुद्दाका साथ नेतृत्व पदमा दाबेदारी दिन शशांक कोइरालामाथि दबाब परेको एक सहभागीले बताए ।