'संविधानमा कुनै द्धिविधा छैन्,अबको १० दिनभित्र प्रचण्ड प्रधानमन्त्री'- डा. महत

Posted on: July 20, 2016 | views: 136

काठमाडौं,साउन ५  । नेकपा एमालेका सचिव योगेश भट्टराईले अविश्वासको प्रस्ताव पारित भएपछि प्रधानमन्त्रीले राजिनामा दिने दाबी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव भट्टराईले भने,‘अविश्वासको प्रस्ताव पारित भए प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ, यसमा कुनै दुईमत छैन् ।’ उनले संसदीय व्यवस्थामा बहुमत पु-याउनेले सरकार बनाउने कुरा नौलो नभएको टिप्पणी गरे । 

साक्षात्कारमा भट्टराईले नियमित संसद चलिरहेकोले पहिला विधेयकमाथिको छलफल अगाडि बढाउनुपर्ने दाबी गरे । उनले थपे,‘नियमित संसद चलिरहेको वेला नियमित एजेण्डालाई नै अगाडि बढाउनुपर्छ, यो विषय नटुँग्याएसम्म अर्को विषयमा जानै सकिँदैन् ।’ उनले विधेयक पारित गर्ने गाडी क्युमा भएकाले अर्को गाडी अघि बढाए समस्या उत्पन्न हुने भन्दै व्यंग्य गरे । 


उनले थपे,‘विधेयक टुँगो लागिसकेपछि, हामी अविश्वासको प्रस्तावमाथि छलफल गर्न तयार छौं, एमाले लोकतान्त्रिक प्रकृयाबाट आएको नतिजा मान्न तयार छ, अविश्वासको प्रस्ताव पारित भए अर्को सरकार बन्छ, एमाले प्रतिपक्षमा बसेर रचनात्मक भुमिका निर्वाह गर्छ ।’ उनले एमाले मुलुक र जनताको लागि बाधक नबन्ने स्पष्ट पारे ।

भट्टराईले सभामुख पद संवैधानिक भएको उल्लेख गर्दै भने,‘सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ, राजनीतिक दलहरुवीच उत्पन्न द्धन्द्धलाई सहज बनाउने भूमिका खेल्नुपर्छ, व्यवस्थापकिय संसदलाई दलहरुवीचको द्धन्द्धको खेलमैदान बनाउने काम गर्नुहुँदैन, त्यस्तो भूमिका नहोस् ।’ यद्धपी उनले सभामुखले मंगलबारबाट सकारात्मक भूमिका निर्वाह गरेको विश्वास व्यक्त गरे । भट्टराईले अहिलेको अवस्थामा सरकार परिवर्तनको कुरा बेमौसमी भएको टिप्पणी गरे । उनले थपे,‘सरकार परिवर्तनको जुन खेल भैरहेको छ, यो बेमौसमी खेल हो, यसको औचित्य नै थिएन् ।’ मुलुकमा यतिवेला संविधान कार्यान्वयन लगायत महत्पूर्ण एजेण्डामा सहमतीय राजनीतिको आवश्यकत्ता रहेको उल्लेख गर्दै प्रमुख दलहरुवीच कुनै न कुनै रुपमा सहमति कायमै राख्नुपर्ने तर्क गरे । 


उनले प्रमुख पार्टीहरुमा यतिवेला अतिवादी र द्धन्द्ध चर्काउनेहरु हावी भएकाले यो समस्या उत्पन्न भएको दाबी गर्दै भने,‘अहिले मुलुकलाई द्धन्द्ध होईन्, एकताको खाँचो छ ।’ नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेकाले पहिला अविश्वासको प्रस्तावमाथि नै छलफल हुनुपर्ने दाबी गरे ।


उनले भने,‘सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि पहिला यो विषयले प्राथमिकता पाउनुपर्छ, यो प्रस्तावमाथि मतदान गरेर टुँगो लगाईसकेपछि मात्रै अन्य विषयमा जानुपर्छ, यसमा कोही पनि द्धिविधामा पर्नुहुँदैन् ।’  आश्रित विधेयक पारित नगरे आर्थिक संकट उत्पन्न हुन्छ भनेर हल्ला फिँजाईएकोमा असन्तुष्टी पोख्दै भने,‘विनियोजन विधेयक पास भैसकेको अवस्थामा, आश्रित विधेक ३१ असारभित्रै पारित हुनुपर्दथ्यो, त्यसो नभएपछि पहिलाकै व्यवस्था अनुसार काम भैरहेका छन्, अहिले यसको कुनै सान्र्दर्भिकता छैन् ।’


संसदीय व्यवस्थामा सरकार परिवर्तनको कुरालाई बेमौसमी बाजा भन्नु तर्कसंगत नभएको नेता महतको दाबी छ । उनले थपे,‘संसदको मतको आधारमा सरकार बन्ने र हट्ने कुरा लोकतान्त्रिक कुरा हो, यसमा विवाद उत्पन्न गराउनुको कुनै तुक छैन् ।’ सत्तारुढ दलले नै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको दाबी गर्दै उनले त्यसको विकल्पमा नयाँ सरकार बनाउनु स्वभाविक भएको तर्क गरे । 

काँग्रेसलाई सरकारमा जान हतार भएको भन्ने एमाले सचिव योगेश भट्टराईको आरोपलाई खण्डन गर्दै उनले भने,‘एमालेले यस्तो कुरा भन्न मिल्दैन, एमाले २०६२ सालदेखि लगातार सरकारमा छ, यो कुरा जनतालाई राम्रोसँग थाहा छ ।’

ओली नेतृत्वको सरकारले कुरामात्रै प्रशस्त गरेको जनतामा कुनै किसिमको डेलिभरी नगरेको आरोप महतले लगाए । उनले भने,‘कामको हिसावले यो सरकार पूर्ण असफल भैसकेको छ ।’ यद्धपी नेता महतले संविधान कार्यान्वयन गर्ने विषयमा प्रमुख राजनीतिक दलहरुवीच एकता हुुनुपर्नेमा जोड दिए । 


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारको भन्दा कुशल नेतृत्व दिने दाबी गरेकोले काँग्रेस र माओवादीवीच नयाँ गठबन्धन बनेको उनको दाबी छ । अबको १० दिनभित्र मुलुकले नयाँ प्रधानमन्त्री पाउने दाबी गर्दै भने,‘सरकार बनाउने कुरामा संविधानमा कुनै द्धिविधा छैन् ।’ 

नेकपा माओवादी केन्द्रका नेता एवम् निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सम्भावना रहेको खुलासा गरेका छन् । 


रायमाझीले भने,‘काँग्रेसले हामीलाई समर्थन गरिक्यो, अब एमालेले पनि हामीलाई सहयोग गर्नुपर्छ, विगतमा हामीले एमालेलाई ९ महिना सहयोग गरेकै हो, अहिले एमालेले हामीलाई सहयोग गर्दा के विग्रन्छ ।’ संविधानको प्रभावकारी कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नको लागि पनि प्रमुख राजनीतिक दलहरुवीच सहमति आवश्यक भएको भन्दै त्यसको लागि पहल भैरहेको उनको दाबी छ । 

उनले संविधानले सरकार बनाउने नमिल्ने भनेर कतैपनि उल्लेख नभएको उल्लेख गर्दै भने,‘अविश्वासको प्रस्ताव पहिले वा विधेयक पहिला भनेर विवाद गर्नुहुँदैन, विधेयकको कुरा ठूलो होईन, बजेट पारित भैसकेको छ, कुन पहिला भन्नु जरुरी छैन ।’ उनले नयाँ सरकार बन्ने प्रक्रिया भोलिबाटै सुरु हुने दाबी गर्दै प्रधानमन्त्रीले राजिनामा दिएर मार्गप्रशस्त गर्नु नै उत्तम हुने बताए । 

ओली नेतृत्वको सरकारले महत्वपूर्ण काम गरेको दाबी गर्दै भने,‘यो सरकारले महत्वपूर्ण कामहरु समेत गरेको छ, तर शान्तिप्रक्रिया, संविधानको कार्यान्वय र पूर्ननिर्माण लगायतका कामहरुमा केही कमीकमजोरी रहेपछि अरु कामहरु छायाँमा परे ।’