नेमकिपा निकट वकिलहरुद्वारा बारको निर्वाचनमा उम्मेद्वारी घोषणा

Posted on: May 02, 2016 | views: 234

१८ फागुन, भक्तपुर । 
आगामी चैत्र २० गते हुने नेपाल बार एशोसियसनको निर्वाचनका लागि नेपाल मजदूर किसान पार्टी निकट कानून अध्ययन समाज नेपालले आज उम्मेदवारी घोषणा गरेको छ ।  समाजले आज भक्तपुरको रफत संचार क्लबमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गरेको हो ।
बार एशोसियसनको निर्वाचनमा समाजका अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्षमा, नरहरीनाथ योगी(बाँके) महासचिवमा र सदस्यहरुमा मदन श्रेष्ठ(काठमाण्डौ), शिवराज दाहाल(दैलेख) ले उम्मेदवारी दिने भएका हुन् । 
उम्मेदवारी घोषणा गर्दै अध्यक्ष प्रजापतिले विगत लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले पालैपालो नेपाल बारको नेतृत्व गरेपनि बारलाई प्राज्ञिक थलो बनाउनुको सट्टा भागवण्डाको थलो बनाएको आरोप लगाउनुभयो । 
केन्द्रदेखि जिल्लासम्म विदेशी दातृ निकायबाट प्राप्त बजेटमा समेत भागवण्डा गर्ने, अपारदर्शी ढंगले बजेट सिध्याउने र नियुक्तिमा समेत पक्षपात हुने गरेको आरोप लगाउँदै उहाँले बारलाई निष्पक्ष, पारदर्शी बनाउँदै कानून व्यवसायीको क्षमता अभिबृद्धि गर्न आफूहरुको उम्मेदवारी रहेको बताउनुभयो ।
सर्वाेच्चदेखि जिल्ला अदालतसम्मका मुद्दाहरु स्थानीय बिचौलियाहरुकोे नियन्त्रण र न्याय क्षेत्रमा हुने भ्रष्टाचारलाई निर्मूल गर्न, कानून व्यवसायीहरुको हक, हित र न्याय क्षेत्रमा लाग्ने लक्ष्यका साथ उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।