ओलीले दिए सर्वोच्चलाई लोप्पा ख्वाउँदै प्रचण्डलाई करोडौंको गाडी सुविधा

Posted on: May 02, 2016 | views: 433

१८ फागुन, काठमाडौं ।
सर्वोच्च अदालतको आदेशविपरीत केपी ओली सरकारले कानुनी मापदण्डबिना नै पूर्वप्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विलाशी गाडी सुविधा दिएको छ ।

सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूलाई जथाभावी गाडी, इन्धनलगायतका सुविधा दिन थालेपछि सर्वोच्चले स्पष्ट कानुनी मापदण्ड नबनाई कसैलाई पनि सुविधा नदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको थियो ।
 
मन्त्रिपरिषदको निर्णयका नाममा सरकारले दाहाललाई विलाशी गाडी, चालक, इन्धन मोबिल र मर्मत खर्च दिन थालेको हो। ‘उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पूर्व प्रधानमन्त्री प्रचण्डलाई हलुका सवारी चालकसहितको सवारी साधन एक र मासिक २ सय ३० लिटर पेट्रोल, मोबिल ५ लिटर ९त्रैमासिक० प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत उपलब्ध गराउने’ मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।
 
प्रचण्ड कानुनी मापदण्डबिना नै सरकारबाट गाडीलगायतको सुविधा पाउने नवौं भाग्यमानी नेता भएका छन् ।

यसअघिदेखि नै सरकारबाट विलाशी गाडीसहितको सुविधा पाइरहेकामा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्व उपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, झलनाथ खनाल, तत्कालीन मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्व सभामुख सुवास नेम्वाङ र पूर्वगृहमन्त्री वामदेव गौतम र कांग्रेस सांसद अमरेशकुमार सिंह रहेका कान्तिपुर दैनिकमा समाचार छ ।