कांग्रेस महाधिवेशनको तयारी यसरी भइरहेको छ

Posted on: May 02, 2016 | views: 217

१७ फागुन, काठमाडौं ।
कांग्रेसको १३औँ महाधिवेशन २० फागुनबाट काठमाडौंमा हुँदै छ। मूल आयोजक समिति र मातहतका १३ समितिले आफ्नो काम अन्तिम चरणमा पुर्‍याएको कांग्रेस मुख्यालयका सचिव प्रकाश शर्माले बताए ।
 
‘महाधिवेशन मूल आयोजक समिति र त्यसअन्तर्गतका १३ समितिले करिब ९० प्रतिशत तयारी पूरा गरेका छन्,’ उनले भने।
 
सात क्षेत्रका प्रतिनिधि चुनिन बाँकी, आठ जिल्लामा पछि मात्रै अधिवेशन

दुई सय ३३ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चुनिइसकेको छन्। धनुषाको १, ४, ५, ६ र ७, र महोत्तरी–३ तथा रसुवामा क्षेत्रीय अधिवेशन हुन बाँकी रहेको केन्द्रीय निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले बताए। बाँकी क्षेत्रमा सोमबार अधिवेशन हुने उनको भनाइ छ।
 
आठ जिल्लामा पछि मात्रै अधिवेशन
६५ जिल्लाको अधिवेशन सकिएको छ भने कञ्चनपुर, बझाङ, डोल्पा, पर्सा, धनुषा, महोत्तरी, रसुवा, सिरहा, संखुवासभा र सिन्धुपाल्चोकको अधिवेशन हुन बाँकी छ। संखुवासभा र रसुवाबाहेकका जिल्लामा महाधिवेशनपछि मात्रै अधिवेशन हुने भएको छ।
 
महाधिवेशनमा इलेक्ट्रोनिक मतदान
महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने तयारी निर्वाचन समितिले गरेको छ। ‘नेपालमा बनेको इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग हुन्छ ।

यो निर्वाचन आयोगसँग भएभन्दा फरक हो,’निर्वाचन समिति सदस्य गोपालकृष्ण घिमिरेले भने। निर्वाचन कार्यक्रम केन्द्रीय कार्यालयमा हुने नयाँ पत्रिका दैनिकमा समाचार छ।