सर्वदलिय बैठकमा पुर्ननिर्माण, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल

Posted on: May 02, 2016 | views: 226

१८ बैशाख, काठमाडौं ।
प्रधानमन्त्रीको आव्हानमा आज सिंहदरवारमा बसेको सर्वदलिय बैठकमा संसदको आगामी बैठकलाई प्रभावकारी बनाउने, भुकम्प प्रभावित क्षेत्रको पुननिर्माण तथा मधेश आन्दोलनका सम्बन्धमा वार्ता गर्न गठित राजनीतिक संयन्त्रलाई प्रभावकारी बनाउने बारेमा  छलफल भएको छ ।

सर्वदलिय बैठकलाई सम्बोधन गर्नुहुंदै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सबै दलले सामुहिक रुपमा स्वंयसेवक परिचालन गर्नुपर्ने प्रस्ताव राख्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनु भयो ।

दल बिशेषले आ–आफ्नै ढंगले स्वयंसेवक परिचालन गर्दा समस्या आउन सक्ने भन्दै उहांले सबै दलहरुबाट प्राप्त नामलाई एकीकृत गरी संगठित रुपमा स्वयमसेवक परिचालन गर्नु पर्नेमा जोड दिनुभयो ।

उहांले स्वयसेवक परिचालन गरिंदा पुनर्निर्माण प्राधिकरणले स्वयंसेवक परिचालनको कार्यबिधि बनाएर समन्वय गर्ने जानकारी बैठकमा दिनु भयो ।

बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मार्चाले उठाएका मागहरु वार्ताकै माध्यमबाट समाधान गरिने प्रतिवद्धता जनाउनु भएको पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार दाहालले जानकारी दिनु भयो ।

बैठकमा आगामी संसद बैठकलाई  प्रभावकारी बनाउने सम्बन्धमा छलफल भएको बैठकपछि एकिकृत माओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिनु भयो ।

प्रधानमन्त्रीको अध्यक्षतामा  बसेको बैठकले भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माण कार्यलाई सबैको सहयोगमा छिटो सम्पन्न हुने गरी  प्रभावकारी बनाउने निर्णय गरेको छ । त्यसको लागि जेठको पहिलो हप्तामा देशव्यापी रुपमा स्वयमसेवक परिचालन गर्ने लगायतका निर्णय भएको एकिकृत माओवादी महासचिव महराले जानकारी दिनु भयो ।

बैठकका सहभागिहरुले सहमतिका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिनु भएको छ । साथै बैठकमा साना दलकातर्फबाट भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्यलाई पहिलो प्राथमिकतामा  राखेर अघि बढ्न सरकारलाई सुझाव दिइएको छ ।  

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकिकृत माओबादीका अध्यक्ष पुष्पकमल दाहाल ,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शम्शेर राणा, मधेशी जनअधिकार फोरम प्रजातान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत अन्य साना दलका नेताहरुको पनि सहभागिता थियो  ।