'भूकम्प पीडित त्रिपालमा बस्नु पर्दैन, जेठ भित्र सरकारले ठुल्ठुला घर बनाइदिन्छ'-प्रधानमन्त्री ओली

Posted on: May 02, 2016 | views: 234

१७ बैशाख, सुनसरी ।
प्रधानमन्त्री भएको बर्षदिन पुग्न लाग्दा समेत भूकम्प पीडितका लागि ठोस राहत दिन नसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले असर नै नपारेको सुनसरी जिल्ला पुगेर भूकम्प पीडितका बारेमा भाषण दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो असार सम्ममा भूकम्प पीडितले त्रिपाल मुनी बस्नु नपर्ने भाषण दिएका छन् ।

नेकपा एमाले धरान उपमहानगर विशेष इलाका संगठन कमिटीको सातौं अधिवेशनको धरानमा उद्घाटन गर्दै ओलीले सरकारले भूकम्प पीडितलाई राख्न जेठ मसान्त भित्रै ट्रष्टका ठूला ठूला घरहरु र निजी घरहरू निर्माण गरिदिने बताए ।

प्रधानमन्त्री ओलीले ठट्टाको शैलिमा ८ लाख घर पुनर्निमाण गर्नुपर्ने भएकाले भन्ने वित्तिकै सबैका घर बनाउन नसकिने बताए ।

भूकम्पले क्षतीग्रस्त क्षेत्रका घरको पूर्ननिर्माणका लागि एकहजार ३ सय ७६ जना इन्जिनियरहरूलाई तालिम दिएर कार्यक्षेत्रमा पठाएको बताउँदै यो अभियानमा स्वयमसेवक खटाउन अरु दललाई पनि प्रधानमन्त्रीले आग्रह गरे ।

प्रधानमन्त्री ओलीले यस पटकको बजेटले पूर्ननिमार्णका साथै देश आर्थिक समृद्धिका लागि अगाडी बढ्ने नीति तथा कार्यक्रम समेटने आश्वासन दिए । पूर्ननिमार्णका साथै देशको तीव्र विकासमा यस आउदो बजेट नमुना हुने उनको दावी छ ।

संविधानप्रति अझै पनि असन्तुष्टीहरू देखिएको बताउँदै प्रधानमन्त्री ओलीले सरकार वार्ता र छलफलको लागि सदा तयार रहेको र हिजोमात्र महन्थ ठाकुरसंग छलफल गरेको बताए ।

अधिवेशनको उद्घाटनमा विभिन्न क्षेत्रमा योगदान पुर्याएको भन्दै ७ जनालाई सम्मान गरिएको थियो । कार्यक्रममा एमाले सचिव भीम आचार्य, कोशी अञ्चल इन्चार्ज जीवन घिमिरे सुनसरी अध्यक्ष द्वारिकलाल चौधरीलगायतले शुभकामना दिए ।

अधिवेशनका बन्दसत्र आजै सुरु हुँदै छ । अधिवेशनमा १९ मनोनितसहित ३ सय ९३ जना प्रतिनिधि रहेको एमालले जनाएको छ ।