भारतीय नेताको दैलो चहार्न गएका देउवा निराश, महरा सुटुक्क दिल्ली पुगे

Posted on: May 03, 2016 | views: 371

१५ बैशाख, काठमाडौ ।
उपचारको बहानामा भारत जाने र राजनीतिक भेटघाटमार्फत सत्ता परिवर्तनका निम्ति कसरत गर्ने चलन नेपाली राजनीतिमा नयाँ होइन ।

नेपाली कांग्रेसको महाधिवेशनपछि सत्ता परिवर्तन हुन्छ भन्ने विश्लेषणले बजार नसेलाएकै अवस्थामा श्रीमतिकै उपचारका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत भ्रमण जानुलाई संयोग मात्र मान्नेको संख्या न्यून छ ।

यसको अर्थ देउवा पत्नी बिमारीनै थिइनन् भन्ने होइन । उनी विमारी थिइन् र उनको बिमार सामान्य प्रकृतिको मात्र थिएन । हिपको हड्ेडी नै खुस्किएकाले त्यसको शल्यक्रिया गर्नुपर्ने थियो ।

तर, यो उपचारका नाममा भएको भ्रमणलाई देउवाले निश्चय नै एक पन्थ दुई काजका रुपमा प्रयोग गर्ने भरमग्दुर प्रयास गरेका थिए ।

अर्थात, उनी श्रीमतीको उपचार पनि गर्ने र राजनीतिक भेटघाटमार्फत नेपालको सत्ता परिवर्तन र अझ सोझो अर्थमा भन्दा आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि नयाँ खेलको आरम्भ गर्ने दाउमा थिए । तर, उनको यो चाहनामा तुषारापात लागेको छ । दिल्लीमा कसैले पनि भाउ नदिएपछि उनी निराश भएर स्वदेश फर्कदैछन् ।आजको बुधबारमा समाचार छ ।

एमाओवादी नेता महरा किन गए सुटुक्क दिल्ली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसँग रिस उठ्नासाथ ‘यो त भारतीय योजनामा आएको हो नि’ भन्नेहरुको कमी छैन् ।

कार्कीलाई प्रमुख आयुक्त बनाउन मरिहत्ते गरेर लाग्ने माओवादी नेताहरु नै आफूमाथि आइलाग्छ कि भन्नासाथ त्यसो भन्न बाँकी राख्दैनन् ।

तर, तपाईँलाई सुन्दा अचम्म लाग्ला, एमाओवादीका एक वरिष्ठ नेताचाहिँ अख्तियारबाट बचाइदिनुप¥यो भन्दै दिल्लीका ढोका चहारेर फर्किएका छन् ।

अख्तियार प्रमुख कार्कीले भन्ने गरेका ठूला माछामध्येका एक एमाओवादी महासचिव कृष्णबहादुर महराले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका मान्छेसम्मलाई आफ्नो बचाव गरिदिन आग्रह गरेको स्रोतले बतायो ।

गत बैशाख ८ गते बिहान साढे ११ बजे जेट एयरको विमानबाट दिल्ली पुगेका महराले आयोगमा रहेको आफ्नो मुद्दामा विशेष केन्द्रित भएर सरकार बदल्ने सम्भावनाबारे समेत छलफल गरेको खवर बालुवाटारमा आइपुगेको छ । आजको बुधबारमा समाचार छ ।