सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा

Posted on: May 02, 2016 | views: 219

काठमाडौं,बैशाख १४ ।  लामो खडेरीले अन्न अभावमा कयौँ नागरिकको चुल्हो नबल्ने अवस्थामा रहेका बेला उपप्रधान तथा रक्षामन्त्रीले भने सेनाको हेलिकोप्टर पार्टीको कार्यक्रममा जान दुरुपयोग गरेका छन् । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवम् रक्षामन्त्री भीम रावलले अछाम, बाजुरा र डडेलधुरामा चार दिनसम्म आफ्नो पार्टीका साथै विद्यालय, मन्दिर उद्घाटन रअभिभावक भेला जस्ता सामान्य कार्यक्रममा सहभागी हुन सेनाको हेलिकोप्टर प्रयोग गरेका हुन् ।

सेनाको एनए ०५७ हेलिकोप्टर ल्याएर बैशाख ९ गते अछाम आएका रावलले अछाम, डडेलधुरा र बाजुरामा पार्टीको विभिन्न कार्यक्रम उद्घाटन गरे । प्रहरी स्रोतका अनुसार रावल ९ गते अछामको दशपल्ले मावि सोकटको भवन उद्घाटन तथा सोही दिन डडेलधुरामा एमालेको नगर अधिवेशन उद्घाटन कार्यक्रममा सहभागी भएका थिए ।

१० गते विहान अछामकै लुंग्राको सृजनशील विद्यालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम हेलिकोप्टर बस्न नसक्दा एक पटक सदरमुकाम फर्किएर अर्कोपटक मात्र सफल भएको थियो । सोही दिन रावलले एमाले अछामको तेस्रो प्रतिनिधी परिषद् उद्घाटन गरेका थिए । यस्तै रावलले सोही हेलिकोप्टरबाट पुगेर ११ गते बाजुरास्थित नेकपा एमाले बढीमालिकाको नगर अधिवेशन उद्घाटन गरेका थिए ।

मन्त्री रावलले १२ गते अछामकै मार्कु गाविस भवनको उद्घाटन तथा सोही दिन आफ्नै पुख्र्यौली गाउँमा मन्दिर उद्घाटनका साथै जनता क्याम्पस बयलपाटाको अभिभावक भेलाको उद्घाटन कार्यक्रममा सेनाकै हेलिकप्टर प्रयोग गरेर सहभागिता जनाएको प्रहरी स्रोतले जानकारी दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।