प्रचण्ड भन्छन् -'जनयुद्धका सबै घटनाको म जिम्मा लिन्छु'

Posted on: May 02, 2016 | views: 134

दाङ,बैशाख ११ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका सम्पूर्ण घटनाको जिम्मा आफूले लिने बताएका छन् । क्रान्तिकारी पत्रकार सङ्घ दाङले शनिबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले पार्टी अध्यक्ष र जनयुद्धको सर्वोच्च कमाण्डरको हैसियतले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मा आफुले लिने बताएका हुन् ।

सङ्क्रमणकालीन न्यायको सिद्धान्तका आधारमा द्वन्द्वकालीन मुद्दा टुग्याउनुपर्ने भन्दै अध्यक्ष दाहालले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगका काम कारबाहीप्रति आफूहरुको कुनै आपत्ति नरहने उल्लेख गरे । ‘सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग हामी माओवादीलाई चाहिएको थियो । हाम्रा विरुद्धमा जनयुद्धकै समयमा उजुरी हालिएको थियो’, प्रचण्डले भने , ‘म माओवादी मात्रै होइन सम्पूर्ण नेपाली जनतालाई द्वन्द्वकालीन घटनाको विरुद्धमा उजुरी दिन आग्रह गर्दछु । ’

सोह्र बुँदे सहमतिकै आधारमा देशलाई अगाडि बढाउनुपर्ने भन्दै अध्यक्ष दाहालले वर्तमान सरकारमा नेपाली काँग्रेस र मधेसी मोर्चालाई सहभागी बनाएर राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने धारणा राखे । वर्तमान सरकार परिवर्तन गर्ने भन्दा पनि यही सरकारमा सबैलाई सहभागी गराउने कार्यमा आफु लागि रहेको उनले बताए । अर्को फरक प्रशङ्गमा बोल्दै प्रचण्डले अदालतका केही निर्णयप्रति आफूहरुको आपत्ति रहेको छ बताए ।

अदालतले आफूहरुलाई फसाउने नियतले गरेका निर्णयको विरुद्धमा सबै माओवादीलाई बोलाएर आफूले छलफल गरेको उनले उल्लेख गरे ।
-रातोपाटी