एमालेले मधेशी मोर्चालाई भन्यो-'सँधै आन्दोलन हैन समझदारीमा आउ'

Posted on: May 03, 2016 | views: 154

३ बैशाख, काठमाडौं ।
नेकपा एमालेको केन्द्रीय समिति बैठकले आन्दोलनको बाटो छोडेर वार्ता र सम्वादमार्फत शान्ति र समझदारीको प्रक्रियामा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई आग्रह गरेको छ ।

एमालेको आज सम्पन्न केन्द्रीय कमिटीको बैठकले प्रस्ताव पारित गरी संविधानले राजनीतिक मतभेद् र समस्याको समाधान छलफलबाटै गर्न सक्ने आधार निर्माण गरेकाले वार्तामा आउन मोर्चालाई आव्हान गरेको हो ।

बैठकले आन्दोलनको बाटो छोडेर वार्तामा आउन मोर्चालाई आग्रह गरेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनु भयो ।

बैठकले स्थानीय निकायको मिति तत्काल तोक्न तथा भुकम्पबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणको कामलाई तिब्रता दिन सरकारलाई निर्देशन दिएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताव बैठकले सुझावसहित पारित गरेको छ । संविधानको भावना अनुसार प्रदेश कमिटी बनाउने निर्णय गर्नुका साथै प्रदेश कमिटीमा रहने नेताहरुको नाम टुंगो लगाउने जिम्मा  स्थायी कमिटीलाई दिएको छ ।