यी हुन् मोर्चासँग नमिलेका पाँच मुद्दा 

Posted on: April 30, 2016 | views: 216

काठमाडौं,बैशाख २ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रमुख तीन दल र सरकारले बोलाउने वार्तामा तत्काल सहभागी नहुने भएको छ। वार्ताबाट समस्या समाधान गर्नेभन्दा आन्दोलन तुहाउने रणनीतिअनुसार तीन दल र सरकारले वार्तामा बोलाउने गरेको भन्दै मोर्चाले वार्तामा नबस्ने जनाएको छ। 
 
आन्दोलनकै तयारीमा मधेसी मोर्चा
 
मोर्चाले सबै माग पूरा नभएको भन्दै आन्दोलनको तयारी गरेको छ। ४५ दिनमा सरकारलाई गलाउने गरी आन्दोलन केन्द्रित गर्ने तयारी मोर्चाको छ। पहिलाको आन्दोलनजस्तो अनिश्चितकालीन आमहडताल गर्ने पक्षमा मोर्चा नेता देखिएका छैनन्। 
 
मोर्चासँग नमिलेका पाँच मुद्दा:
 
१‍.मधेसमा दुई प्रदेश
 
मधेसमा दुई प्रदेश बनाउनुपर्ने माग मोर्चाको छ। तर, यो मागमा प्रमुख राजनीतिक तीनहरू सहमत हुन सकेका छैनन्। सीमांकनसँग जोडिएको यो मोर्चाको पहिलो माग हो। 
 
२.वैवाहिक नागरिकता
 
मोर्चाले वैवाहिक नागरिकताको प्राप्ति संघीय कानुनमा नभई संविधानमा नै स्पष्ट हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनीत वा निर्वाचित अन्तरिम संविधानको व्यवस्थाअनुरूप हुनुपर्ने माग गरेको छ । यसमा पनि तीन दल सहमत छैनन् । वैवाहिक अंगीकृत नागरिकताबारे अस्पष्ट भए स्पष्ट पारिने तर अंगीकृतलाई राज्यको कार्यकारी प्रमुखमा लैजाने गरी सहमति हुन नसक्ने उनीहरूको भनाइ छ ।
 
३.समावेशी न्यायपालिका
 
न्यायपालिकालाई संघ राज्यको आधारभूत मान्यताअनुरूप संघीय ढाँचामा रूपान्तरित गर्ने तथा सर्वोच्च अदालत, उच्च अदालत र स्थानीय अदालतको नियुक्ति समावेशी समानुपातिक आधारमा गर्नुपर्ने र उच्च अदालत र स्थानीय अदालतको न्यायाधीशहरूको नियुक्ति प्रादेशिक कानुनबमोजिम हुनुपर्ने माग मोर्चाको छ । यो माग नयाँ कानुन बन्दा सम्बोधन हुने भएकाले छलफल गर्न सकिने प्रमुख दलको भनाइ छ ।
 
४.समावेशी सेना 
 
नेपाली सेनालाई राष्ट्रिय स्वरूप प्रदान गर्दै लोकतान्त्रीकरण गर्ने तथा सेनालगायत सम्पूर्ण सुरक्षा निकायहरू समानुपातिक समावेशी बनाउनुपर्ने मोर्चाको मागमा तीन दल सहमत छैनन । सेनालाई समावेशीका नाममा कमजोर बनाउन नहुने उनीहरूको तर्क छ ।
 
५.बहुराष्ट्रियताको परिभाषा 
 
नेपाललाई एकल राष्ट्रिय राज्यका रूपमा नभई बहुराष्ट्रिय राज्यको परिभाषित गर्नुपर्ने मोर्चाको माग छ । तर, प्रमुख दल यो कुरा सबैभन्दा बढी खतरनाक भएको बताउँछन् । तर, पछिल्लोपटक मोर्चाले यो मागलाई जोडदार रूपमा उठाउन छाडिसकेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।