संसद् विघटन विरुद्धको मुद्धा हेर्दाहेर्दैमा

Posted on: January 20, 2021 | views: 805


विदुर । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदन संवैधानिक इजलासमा भएको तेस्रो दिनको सुनुवाइ हेर्दा हेर्दै बुधबारको लागी सारिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारदेखि संवैधानिक इजलासमै सुनुवाइ गर्ने गरेपछि विषय केन्द्रित बहस गरिएको तेस्रो दिन मंगलबार पाँचजना अधिवक्ताले बहस गर्नुभएको थियो । 

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले प्रतिनिधि सभा विघटन संवैधानिक वा राजनीतिक विषय हो भन्नेबारेमा प्रष्टसँग बुझ्न संविधानको दृष्टिकोणबाट हेर्नुपर्ने तर्क गर्नुभयो । अधिवक्ता रुद्र शर्माले कार्यपालिकाले व्यवस्थापिकाको विश्वास कायम गरेर काम गर्नुपर्ने भएकाले वर्तमान संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने विशेषाधिकार नदिएको तर्क प्रस्तुत गर्नुभयो । 

यस्तै, अधिवक्ता हर्कबहादुर रावलले प्रतिनिधि सभाले प्रधानमन्त्रीलाई सहयोग गरेका अवस्थामा उहाँले  विघटन गर्न नपाउने तर्क राख्नुभयो । अधिवक्ता शिवकुमार यादवले पाँच वर्षका लागि चुनाव भएकाले साढे तीन वर्षमै चुनाव गर्न नमिल्ने जिकिर गर्नुभयो । 

यसैगरी, अधिवक्ता शेरबहादुर ढुङ्गानाले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको जनाउँदै कानुनविरूद्व भएको विघटन बदर गरी पुनस्थापना हुनुपर्ने माग गर्नुभयो ।