बागमतीको सरकार काग्रेस हातमा तर, किन बस्यो मौन

Posted on: January 18, 2021 | views: 946


विदुर । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अलमलमा देखिएको छ । 

प्रदेशमा नयाँ सरकार गठन वा पुरानैलाई निरन्तरता दिने, दुवै अवस्थामा निर्णायक मानिएको कांग्रेसले निर्णय नगर्दा सत्ता–समीकरणमा देखिएको अन्योल कायमै छ । सत्तारूढ नेकपा लगभग विभाजनको अवस्थामा पुगेपछि मुख्यमन्त्री पौडेल विरुद्ध आफ्नै दलको दाहाल–नेपाल समूहबाट प्रदेशसभामा पुस १० गते अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा मुख्यमन्त्रीको पक्षमा ३४ मत रहेको छ । दाहाल–नेपाल समूहका ४५ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । पौडेललाई अब प्रदेश सरकार टिकाउन आवश्यक थप २२ मत कांग्रेससँग छ । ४६ मत मात्र रहेको अर्को पक्षलाई पनि नयाँ सरकार बनाउन कांग्रेसको साथ आवश्यक पर्ने देखिएको छ ।

सत्तारूढ नेकपा औपचारिक रूपमा फुटिनसकेको अवस्थामा कांग्रेस कुन पक्षसँग जोडिने भन्ने दोधारमा परेको कांग्रेसका प्रदेशसभा सदस्यहरूको भनाइ रहेको छ ।