राष्ट्रपतिको सम्वोधन : 'मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश'

Posted on: March 29, 2018 | views: 179

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै  तीनवटै तहको चुनाव सम्पन्न भएसंगै मुलुक आर्थिक स्थिरता र समृद्धिको चरणमा प्रवेश गरेको बताएकी छिन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई बिहीवार संसद भवनमा सम्वोधन गर्दै राष्ट्रपति भण्डारीले जनताको भावना अनुसार काम गर्न सरकार सफल हुने बताएकी हुन् । आफ्नो संक्षिप्त सम्वोधनका क्रममा राष्ट्रपति भण्डारीले तीनवटै तहको चुनाव सम्पन्न गराएकोमा सरकार र निर्वाचन आयोगलाई धन्यवाद दिइन् ।

राष्ट्रपति भण्डारीले आफ्नो निर्दिष्ट लक्ष पूरा गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभा सफल हुने विश्वास व्यक्त गरिन् । दुवै सदनलाई सम्बोधन गर्न पाउदा हर्ष र गौरवको अनुभुति भएको भन्दै राष्ट्रपति भण्डारीले राजनीतिक आर्थिक र सामाजिक क्षेत्रमा ठूला उपलव्धि हासिल गर्ने अवसर भएको भन्दै यसको सदुपयोग गर्नुपर्नेमा जोड दिइन् ।

संघीय संसदको बैठकलाई सम्वोधन गर्न राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे संसद भवन नयाँ वानेश्वर पुगेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले राष्ट्रपति भण्डारीलाई संसद भवनमा स्वागत गरेका थिए ।