'प्रधानमन्त्री देउवाले शनिवार राजीनामा दिने'

Posted on: February 08, 2018 | views: 504

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार पदबाट राजीनामा दिने भएका छन् ।

कामचलाउ सरकारका कानून, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले आगामी फागुनको पहिलो साता नयाँ सरकार बन्ने दाबी समेत गरेका छन् ।

मन्त्री थापाले फागुण ७ गतेको प्रजातन्त्र दिवस मनाएर देउवा सरकार बिदा हुन लागेको भन्दै त्यही दिन नयाँ सरकार गठन हुने बताए ।

वाम गठबन्धन खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार बन्ने बताउँदै बिहीबार एक कार्यक्रममा मन्त्री थापाले भने-निर्वाचन सम्पन्न भयो, मैले त धेरै पहिले बोलेको थिएँ, कि नयाँ सरकार फागुनाको ७ गते नै बन्छ भनेर, त्यतिवेला धेरै टिकाटिप्पणी भएको थियो, तर मैले हिसाबकिताब गरेर नै त्यो खुलासा गरेको थिएँ, अबको १० वा १२ दिनभित्रै त्यो कुरा प्रमाणित हुन्छ।

उनले सरकारले मन्त्रिपरिषदको बैठकबाट राष्ट्रिय सभा सदस्यको लागि तीन जनाको नाम सिफारिसका सम्बन्धमा छलफल गर्ने बताए ।

उनले भने,‘अब बस्ने क्याबिनेट बैठकमा यो बारेमा हामी छलफल गर्ने भन्दै प्रधानमन्त्री देउवाले दुई दिनभित्र पदबाट राजिनामा दिने समेत जानकारी दिए ।