राष्ट्रिय सभा निर्वाचनका मतदातालाई विदेश भ्रमणमा रोक

Posted on: January 30, 2018 | views: 311

काठमाडौं । एमालेले राष्ट्रिय सभा निर्वाचनअघि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई विदेश भ्रमणमा जान रोक लगाएको छ । सोमबार दिउसो बसेको एमाले स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुखहरु राष्ट्रिय सभा सदस्यको मतदाता भएकाले निर्वाचन अघि विदेश भ्रमणमा जान रोक लगाएको हो। सम्बन्धित प्रदेशका मतदातालाई अर्काे प्रदेशमा जानबाट समेत एमालेले रोक लगाएको छ।

यसैगरी राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदाताहरूलाई अनिवार्य रुपमा मतदान सम्बन्धी तालिम दिन जरुरी रहेको ठहर समेत एमालेले गरेको छ।

यसका लागि आजको स्थायी समितिले प्रदेश संगठन कमिटीका संयोजकले केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णयपनि गरेको छ। त्यस्तो तालिम एमाले स्थायी समितिले २१ माघकालागि तय गरेको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जारी गरेको विज्ञप्तीका अनुसार २१ माघ राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले एमालेले त्यस अगावै प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको हो। बैठकले एमाले र माओवादी केन्द्रका साझा उम्मेदवारलाई विजयी गराउन संयुक्त रुपमा प्रचार–प्रसार, मतदाता शिक्षा, व्यवस्थापन लगायतका काम गर्ने निर्णय पनि गरेको छ।