अध्यादेशमा असहमती जनाउँदै ओलीले भने-'बहुमतको सरकार बनाएर भ्रष्टाचार नियन्त्रण गर्छौं'

Posted on: December 29, 2017 | views: 326

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गर्नु असंवैधानिक नभए पनि राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेशप्रति नेकपा एमाले असहमत रहेको बताउनु भएको छ ।

नेपाल पर्वतारोहण संघको २७ औं वार्षिक साधारण सभाको आज काठमाडौंमा उद्घाटन गर्दै अध्यक्ष ओलीले अध्यादेशमा प्रस्तावित एकल संक्रमणीय मत प्रणाली अहिले पूर्ण रुपमा लागू हुन नसक्ने भएकाले आफूहरुको असहमति रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले अब एमालेले बहुमतको सरकार बनाउने र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण, सामाजिक सद्भाव, राष्ट्रिय एकता, शान्ति र स्थायित्वका माध्यमबाट लोकतन्त्रलाई सुदृढ एवं संस्थागत गर्ने उल्लेख गर्नुभयो ।

उहाँले वर्तमान सरकारले गरेको कमि कम्जोरीलाई सच्याएर अघि बढ्ने एवं भारत र चीन दुवै छिमेकी मुलुकसँगको सम्बन्धलाई समान रुपमा पारस्परिक लाभको नीतिका आधारमा अघि बढइने प्रष्ट गनुभयो । अध्यक्ष ओलीले नेपालमा जस्तो भौगोलिक विविधता र प्राकृतिक सौन्दर्य अन्त कतै नभएकोले जैविक र बनस्पतीय विविधताको सही उपयोगका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तीनै तहको निर्वाचन सम्पन्न भई मुलुक नयाँ युगमा प्रवेश गरेकाले अव छोटो समयमै मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनु पर्ने बताउनुभयो । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पर्वतारोहणको क्षेत्रलाई थप व्यवस्थित गरी पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले पर्वतीय क्षेत्र पर्यटन गन्तव्य मात्र नभइ मुलुकको पहिचान र प्रेरणाको श्रोत समेत भएकोले यसको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

नेपाल पर्वतारोहण सँघका अध्यक्ष शन्तवीर लामाले पर्यटनलाई उद्योगको रुपमा विकास गर्न आवश्यक सहयोगका लागि आग्रह गर्नुभयो । त्यस अवसरमा एमाले अध्यक्ष ओलीले गत वर्ष सबै भन्दा बढी राजस्व उठाउने आरोही संस्था र पर्यटनको क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्नुभयो ।