निर्वाचनले विकास र सृमद्धिको आकांक्षा जगायोः अध्यक्ष ओली

Posted on: December 14, 2017 | views: 110
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब बन्ने वाम गठबन्धनको सरकारले देश निर्माणमा निजी क्षेत्रसँंग हातमालो गरी अगाडि बढ्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरुले बुझाएको ज्ञापन पत्र आफ्नै निवास बालकोटमा आज बुझ्दै अध्यक्ष ओलीले ०४६ सालको परिवर्तनपछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताउनुभयो । उहाँले निजीकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु कांग्रेस नेतृत्वको सरकारको पालामा बेचिएका कारण स्वेदशमा रोजगारीको अवसर गुमेको बताउनुभयो । अध्यक्ष ओलीले निजी क्षेत्रलाई विकास र समृद्धिका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न र सरकारले त्यसलाई सहज हुने गरी नीति बनाएर सहकार्य गर्ने बताउनुभयो । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती, प्रदिपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, सुरज वैद्य र भाष्कर राजकर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा वाम गठबन्धनलाई प्राप्त बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महशुस भएको उल्लेख गरिएको छ ।