प्रदेश २ को समिकरण : चौथो दलको सरकार , तेस्रो दल प्रमुख प्रतिपक्षी

Posted on: December 14, 2017 | views: 91

काठमाडौँ । प्रदेश २ को सरकार निर्माण रोचक हुने देखिएको छ । देशकै पहिलो, दोस्रो एवं तेस्रो शक्तिशाली दल प्रतिपक्षमा र चौथो एवं पाँचौं दलकोे नेतृत्वमा प्रदेश २ को सरकार बन्ने देखिएको हो ।

गठबन्धन बनाएर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका राजपा नेपाल र संघीय समाजवादी फोरमले यो प्रदेशमा सरकार गठन गर्न पुग्ने बहुमत ल्याएका छन् । सरकार निर्माणका बेलासम्म उनीहरूको गठबन्धन नटुटे मधेसवादी दलको नेतृत्वमा सरकार बन्ने निश्चित भएको हो ।

योसँगै अन्य ६ वटा प्रदेशमा स्पष्ट बहुमत ल्याएको एमाले र माओवादी केन्द्रको वाम गठबन्धनबीच पार्टी एकीकरण नभए देशभरको प्रत्यक्ष निर्वाचनतर्फको परिणाममा तेस्रो भएको दल नेपाली कांग्रेस प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल बन्नेछ । प्रदेश २ बाहेक ६ वटै प्रदेश एवं संघका लागि बहुमतसहितको सिट ल्याएर ६ वटै प्रदेश र केन्द्रीय सरकार निमार्णको तयारीमा जुटेका एमाले र माओवादी केन्द्रको वाम गठबन्धन प्रदेश २ मा भने प्रतिपक्षी हैसियतमा रहनेछन् ।

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठबन्धनले प्रदेश २ मा प्रत्यक्षतर्फ बहुमत सिट जितिसकेका छन् । प्रदेश २ मा प्रत्यक्षतर्फका ६४ सिटमध्ये राजपा नेपाल १५ र संघीय फोरम २० सिटमा विजयी भइसकेका छन् ।

प्रदेश २

प्रत्यक्षतर्फ बहुमत सिटमा विजय भएको मधेसवादी गठबन्धनले समानुपातिकतर्फ पनि अत्याधिक सिट ल्याउने दाबी गर्दै प्रदेश सरकार निर्माणको तयारीमा समेत जुटिसकेका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ राजपाले १० र संघीय फोरमले ९ सिट जितेका छन् ।


प्रदेश २ मा समानुपातिकतर्फ ४३ सिट हुनेछ । प्रत्यक्ष र समानुपातिक गरी प्रदेश २ मा १ सय ७ सिटमा हुनेछ । प्रदेश सरकार निर्माणका लागि ५४ सिट आवश्यक हुन्छ । यस्तो अवस्थामा यदि मधेसवादीले समानुपातिकतर्फ पनि बहुमत ल्याउन सके प्रदेश २ मा राष्ट्रिय एवं शक्तिशाली दल प्रतिपक्षीको कुर्सीमा बस्नुपर्ने हुन्छ ।


राजपा नेपालका महासचिव अजय गुप्ता प्रदेश २ मा मधेसवादी गठबन्धनकै सरकार बन्ने बताउँछन् । प्रत्यक्ष एवं समानुपातिक गरी प्रदेश २ को बहुमत सिट संख्या मधेसवादी गठबन्धनसँग हुने भएकाले मधेसवादी गठबन्धनको सरकार बन्ने निश्चित भएको उनले बताए ।


यस्ता छन् मुख्यमन्त्रीका दाबेदार

प्रदेश २ मा मधेसवादी गठबन्धनले प्रदेश सरकार बनाउने निश्चित भएसँगै राजपा नेपाल र फोरम नेपालमा मुख्यमन्त्री कुन पार्टीका र को हुने भन्ने विषयमा छलफल सुरु भएको छ । निर्वाचित प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री बन्न शक्ति केन्द्रमा लबिङ सुरुसमेत गरिसकेका छन् ।


प्रदेश २ मा मुख्यमन्त्रीका दाबेदार मधेसवादी गठबन्धनमा दर्जनभन्दा बढी नेता छन् । राजपा नेपालबाट मनीष सुमन, परमेश्वर साह, सुरिता साह, रानी तिवारी, उपेन्द्र महतो, जितेन्द्रप्रसाद सानोरले मुख्यमन्त्री बन्न पार्टीका शीर्ष नेतासँग लबिङ गरिरहेका छन् ।


सुमन सप्तरी– २ को ‘ख’, साह धनुषा ३ को ‘ख’, सुरिता महोतरी २ को ‘ख’, तिवारी महोतरी ३ को ‘ख’, महतो सर्लाही –१ को ‘क’ र सोनार बारा– ४ को ‘ख’बाट प्रदेशसभाका निर्वाचित प्रदेशसभा सदस्य हुन्् ।


फोरम नेपालबाट पार्टीका उपाध्यक्ष लालबाबु राउतका साथै पारसप्रसाद साह, शैलेन्द्र साह भावी मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् । राउत पर्सा–१ को ‘ख’, पारस बारा–३ को ‘ख’ र शैलेन्द्र सप्तरी–२ को‘क’बाट प्रदेशसभामा निर्वाचित भएका हुन् । आजको राजधानीबाट