भक्तपुर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि जनताले क्रान्तिकै शैलीमा अभिमत प्रकट गरेको बताउनुभएको छ ।
आज बालकोटस्थित ओली निवासमा बधाइ दिन गएका विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब ५ वर्षका लागि चुनावी प्रतिस्पर्धा सकिएको र अब एमाले अन्य पार्टीसँग सहकार्य गरेर अघि बढ्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले अब नेपाल विकास र समृद्धिको यात्रामा अघि बढ्ने भएकाले निजी क्षेत्रको भूमिका त्यसै अनुसार हुनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ओलीले अब देश निर्माणमा लाग्नुपर्ने भएकोले सबै शक्ति एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
जनलहर सुशासन र एकताका लागिः प्रचण्ड
चितवन ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताउनुभएको छ ।
माडीको बरुवामा आज आयोजित विजयी सभामा अध्यक्ष प्रचण्डले जनतामाझ गरेका प्रतिबद्धता पुरा विषय बामगठवन्धनको प्राथमिकता हुनुपर्ने बताउनुभयो ।
उहाँले जनताले अनुभूति गर्ने गरी काम गर्ने बताउनुभयो । अध्यक्ष प्रचण्डले आज माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिनुभयो ।