मतदातालाई धन्यवाद दिंदै नेता केसीद्धारा मतपरिणमबारे चिन्ता भन्दा पार्टीमा सुधार अभियान चलाउन जोड

Posted on: December 08, 2017 | views: 5880

काठमाडौं ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभरि बाम गठबन्धनले बिजय हाँसिल गरिरहँदा प्रधानमन्त्री तथा काँग्रेस पार्टीसभापती शेरबहादूर देउवा मौन रहिरहँदा उक्त पार्टीका प्रभावशाली नेता अर्जुननरसिंह केसीले भने कमजोरीबारे छलपल र पार्टीमा सुधारको अभियान चलाउनु पर्नेमा जोड दिएका छन ।


नुवाकोट क्षेत्र नम्वर २ बाट प्रदेशसभा उम्मेद्धार रहेका केसी बाम गठबन्धनका उम्मेद्धार भन्दा मतगणनामा पछि परिरहेपनि उनले परिणामबारे चिन्ता लिनुभन्दा यसको कारण र कारक पक्षबारे नग्न–सत्यलाई टेकेर वस्तुपरक समीक्षा तथा गहन विश्लेषण गरी ठोस निश्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको उल्लेख गरेका छन ।


राजनीति जित्दाजित्दै पनि निर्वाचन जित्न नसक्ने कारणहरू केलाउनपर्ने भन्दै नेता केसीले नेतृत्व, नीति, लोकतान्त्रिक प्रक्रिया र पार्टी सञ्चालनका विधिमा हामी कहाँकहाँ चुक्यौ  हाम्रो रणनीतिक कमजोरी के रह्यो रु यस्ता विषयहरुमा खुला र पारदर्शी छलफल तथा दिग्दर्शक मूल्याङ्कन गर्दै पार्टीलाई विधिसंगत, लोकतान्त्रिक र पारदर्शी ढंगले वैचारिक पुनर्जागरणद्वारा आमूल सुधारको अभियान चलाउनु अनिवार्य भएको उल्लेख गरेका छन ।


यस्तो छ केसीद्धारा सामाजिक सञ्जालमा जारी विज्ञप्ति शैलिको भनाई


हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभरि बम विष्फोटनका वावजूद र छिटपुट हिंसात्मक घटनाबाहेक निर्विघ्नतापूर्वक नै सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न भएसँगै विगतका क्रान्ति, सङ्घर्ष र जनआन्दोलनहरूका उपलब्धिको रूपमा हासिल भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने दिशामा अघि बढेको छ ।

२००७ सालको जनक्रान्तिमार्फत उठाएको ‘संविधानसभाबाट संविधान निर्माण गर्ने’ राजनीतिक कोेर्श र संविधान कार्यान्वयनका निमित्त तीनवटै तहको निर्वाचन गर्ने राजनीतिक दायित्व, नेपाली कांगे्रसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ । यसलाई नेपाली कांगे्रसले हासिल गरेको ऐतिहासिक र राजनीतिक विजयको रूपमा लिनुपर्दछ ।

पछिल्ला राजनीतिक ध्रुवीकरण र सङ्क्रमणहरूले कांगे्रसका लागि निर्वाचन कठीन र चुनौतीपूर्ण बन्दाबन्दै पनि लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिई निर्वाचनमा नेपाली कांगे्रसलाई साथ, सहयोग र समर्थन दिएका सम्पूर्ण कार्यकर्ता, मतदाता, शुभेच्छुक र सहयोगीहरूप्रति हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु ।

आम निर्वाचनको प्रारम्भिक परिणाम लोकतन्त्रवादीहरू, खासगरी नेपाली कांगे्रसका कार्यकर्ता, मतदाता र शुभेच्छुकहरूका लागि गम्भीर चुनौतीको रुपमा देखापरेको छ । तर, अब परिणामबारे चिन्ता लिनुभन्दा यसको कारण र कारक पक्षबारे नग्न–सत्यलाई टेकेर वस्तुपरक समीक्षा तथा गहन विश्लेषण गरी ठोस निश्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको छ ।

राजनीति जित्दाजित्दै पनि निर्वाचन जित्न नसक्ने कारणहरू के के हुन् रु नेतृत्व, नीति, लोकतान्त्रिक प्रक्रिया र पार्टी सञ्चालनका विधिमा हामी कहाँकहाँ चुक्यौ रु हाम्रो रणनीतिक कमजोरी के रह्यो रु यस्ता विषयहरुमा खुला र पारदर्शी छलफल तथा दिग्दर्शक मूल्याङ्कन गर्दै पार्टीलाई विधिसंगत, लोकतान्त्रिक र पारदर्शी ढंगले वैचारिक पुनर्जागरणद्वारा आमूल सुधारको अभियान चलाउनु अनिवार्र्य भएको छ । निराश वा विचलित भएर होइन थप जिम्मेवार र प्रभावकारी भएरमात्र हामी आगामी चुनौतीलाई सामना गर्न सक्छौं ।

लोकतन्त्रको विकल्प अझ सुदृढ र परिमार्जित लोकतन्त्रबाहेक केही पनि हुन सक्दैन । जनअभिमत नै सार्थक लोकतन्त्रको मेरुदण्ड हो । यसबाट नेपाली काँग्रेस विमुख हुनसक्दैन । त्यसैले अझ जिम्मेवारीपूर्वक सक्रिय रहौं । गौरवमय ईतिहास लोकतन्त्रवादीहरूको थियो र उज्ज्वल भविष्य पनि लोकतन्त्रवादीहरूकै हुनेछ । थाकेर, भागेर र कर्तव्यबाट चुकेर होइन, सुसंगठित, सशक्त, दृढ र अझ उर्जाशील भएर लोकतन्त्रवादीहरूले नयाँ यात्रा आरम्भ गर्नुपर्ने बेला आएको छ । जय नेपाल !

-अर्जुननरसिंह केसी