सदाबहार सत्ता र शक्तिमा रहँदै आएका कमल थापा डेन्जर जोनमा,ह्याट्रिक गर्ने दाउमा कृष्णप्रसाद

Posted on: December 02, 2017 | views: 266

काठमाडौं । पञ्चायत, प्रजातन्त्र, राजतन्त्र हुँदै गणतन्त्रसम्म सदाबहार सत्ता र शक्तिमा रहँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा २३ वर्षपछि मकवानपुरमा निर्वाचन जितेर कमब्याक हुने दाउमा छन् । २०५१ को मध्यावधि निर्वाचन जितेपछि थापाले मकवानपुरबाट प्रत्यक्षतर्फ जितेका छैनन् । मकवानपुर–१ बाट लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार थापा दुई दशकपछि कमब्याक हुन खोजे पनि वाम गठबन्धनलाई पाखा लगाउन सहज भने छैन, राजधानीमा खबर छ  । वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार कृष्णप्रसाद दाहाल भने ह्याट्रिक गर्ने सुरमा छन् । २०४८ र २०५६ को निर्वाचनमा उनले थापालाई हराएका थिए । राप्रपा अध्यक्ष कमल थापाले आफ्नो उम्मेदवारीसँगै पुराना प्रतिस्पर्धी दाहाललाई पाएपछि मकवानपुर–१ चर्चामा छ ।


उम्मेदवारीको टुंगो लागेसँगै लोकतान्त्रिक गठबन्धनअन्तर्गत कांग्रेस मकवानपुरको असहयोगका कारण थापा समस्यामा परेका थिए । निर्वाचन मिति नजिकिँदै जाँदा थापालाई प्रत्यक्ष उम्मेदवार सकसपूर्ण बन्दै गएको छ ।

मकवानपुर–१ बाट लोकतान्त्रिक गठबन्धनको उम्मेदवार बनेका थापा ‘डेन्जर जोन’मा छन् । समानुपातिकतर्फबाट सहज रूपमा सांसद बन्ने बाटोलाई त्यागेर प्रत्यक्षतर्फको उम्मेदवार बन्न आएका थापा स्थानीय तहको मतका आधारमा वाम गठबन्धनका उम्मेदवार दाहालभन्दा कमजोर देखिएका छन् ।