केपीओलीद्धारा कमल थापालाई धम्की, शेरबहादुर सरकारको निर्णय उल्टाइदिने चेतावनी

Posted on: November 18, 2017 | views: 459

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष कमल थापालाई सम्हालिएर बोल्न सुझाव दिंदै नभए हिसाबकिताब गर्ने धम्की दिएका छन् ।


ओलीले कमल थापालाई आफ्नो बोलीको खण्डन गर्न शर्म लाग्नुपर्ने भन्दै यसबारे क्याल्कुलेर लिएर हिसाब– किताव गर्ने धम्कीसमेत दिएका छन् ।


बूढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का सम्झौता थापाले क्याबिनेट बैठकबाट रद्द गराएपछि अघिल्लो सरकारको नेतृत्व गरेका ओलीले चिनियाँ कम्पनी गेजुवा ग्रुपलाई दिएको ठेक्का रद्दको विरोध गर्दै आएका छन् ।


मन्त्री थापाले ‘आफ्नो स्वार्थमा धक्का परेकाहरुले सरकारी निर्णयको विरोध गरेको’ प्रतिक्रिया दिएपछि ओली थापामाथि खनिएका हुन् ।


कमल थापाविरुद्ध आक्रोश पोख्दै काठमाडौं अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा ओलीले भने– हिजो कमल थापाजीले बोलेको मैले सुनें, ‘जसको स्वार्थमा धक्का परेको छ, तिनीहरुले विरोध गरेका छन्’ भन्नुभएछ, म उहाँलाई अलिकति सम्हालिएर बोल्न आग्रह गर्न चाहन्छु ।’


ओलीले आक्रोश पोख्दै भने– ‘स्वार्थमा धक्का परेको भनेको के ? के स्वार्थमा ? वहाँको के स्वार्थ पूरा भएन र उहाँले क्यान्सिल गरेको ? म उहाँसँगै पनि भेट भएका बेलामा कुरा गरौंला । तर, स्वार्थमा धक्का परेकाहरुले अरे ! वहाँसँग अधिकार छ कि छैन ? अधिकारसहित उहाँ बोल्दै हुनुहुन्छ कि अधिकारविना बोल्दै हुनुहुन्छ ?’


यतिमै सिमित नभई आक्रो पोख्दै ओलीले ‘कमल थापालाई धम्की दिंदै भने कसको बोलीको खण्डन गर्दैछु भनेर हेक्का राखेर बोल्न म सुझाव दिन चाहन्छु । कसको बोलीको कसले खण्डन गर्दैछ ? कसले विरोध गर्दैछ ? अलिकति हेक्का राख्नुपर्छ क्या !’

कमल थापाको प्रस्तावमा मन्त्रिपरिषदले गरेको बुढीगण्डकी सम्बन्धी निर्णय आगामी सरकारले उल्टाइदिनसक्ने संकेत गर्दै ओलीले भनेका छन्– ‘अहिलेको सरकारले गरेका अनुपयुक्त कामहरु भोलिको सरकारले बदर गर्न सक्छ । यो सरकारको काम चुनाव गराउने हो, दीर्घकालीन महत्वका सन्धी सम्झौताहरु गर्ने, कसैलाई लाइसेन्स दिने, कसैको लाइसेन्स खोस्ने होइन ।’