झन्झटिलो मतदान प्रक्रिया: पालैपालो पाउनेछन् तीन मतपत्र, पहिलो भोट के मा ?

Posted on: November 09, 2017 | views: 196

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन । 

अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ । 


मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ  । 


निर्वाचन आयोगले मतदातालाई  तीन मतपत्र एकसाथ नदिने भएको छ।

यसपटकको निर्वाचनमा तीन मतपत्र प्रयोग हुँदैछ। प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ एउटा, प्रदेशको प्रत्यक्षतर्फ अर्को र समानुपातिक निर्वाचन प्रणालीका लागि एउटा गरी तीन मतत्रपको व्यवस्था आयोगले गरेको छ।


सबैभन्दा पहिला मतदाताले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्। मतपत्र बाकसमा खोलेपछि कर्मचारीले अर्को मतपत्र हातमा दिनेछन्। त्यो मतपत्र प्रदेश सभाको प्रत्यक्ष तर्फको हुनेछ।


प्रदेश सभाको मत खसाले लगत्तै तेश्रो मतपत्र मतदाताले पाउनेछन्। तेश्रो मतपत्र समानुपातिक तर्फको हुनेछ।


समानुपातिक तर्फको प्रतिनिधि सभा र प्रदेश सभाको एउटै मतपत्र भएकाले त्यसमा भने दुई छाप लगाउनु पर्नेछ।


माथिल्लोपट्टिको मत प्रतिनिधिसभाको समानुपातिक तर्फ गणना हुनेछ। तल्लो मत भने प्रदेश सभामा समानुपातिक तर्फ गणना हुनेछ। आयोगले तीन मतपत्र दिन छुट्टा छुट्टै कर्मचारीको व्यवस्था गर्नेछ। यसअघि दुई मतपत्र मतदातालाई दिने गरि आयोगले ‘डिजाइन’ गरेको थियो।


तर तीन कर्मचारी हुने भएपछि आयोगले थप एक जना कर्मचारी खटाउने छ। सबै मतपत्रमा हस्ताक्षर भने एउटै मतदान अधिकृतको हुनेछ। सर्वोच्चको आदेशपछि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तीन मत्रपत हुने भएपछि निर्वाचन आयोगले झण्डै २० हजार थप कर्मचारी मतदान केन्द्रमा परिचालन गर्ने भएको छ।


आयोगले देशभरमा १९ हजार ८ सय ९ मतदान केन्द्रको व्यवस्था गरेको छ। मतदाताको संख्या हेरेर निर्वाचन आयोगले एउटा मतदान केन्द्रमा ५ देखि १५ जनासम्म कर्मचारी खटाउँछ। तर तीन मतपत्रको व्यवस्था पछि १९ हजार ८ सय ९ मतदान केन्द्रमा नै थप एक जना कर्मचारी खटाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालले बताए।


ती खटाइएका कर्मचारीले मतपत्र मतदातालाई दिने काम गर्नेछन्। मत लगाउँदा छाप लगाउने ठाउँमा राखिएको स्वस्तिक चिन्ह नै प्रयोग गर्नुपर्छ। र, स्वस्तिक छाप स्पष्ट बुझिने गरी लगाउनुपर्छ।


उनका अनुसार मसी लतपतिएमा मत बदर हुन्छ। स्वस्तिक छापले चुनाव चिन्ह छोएमा मत बदर हुँदैन तर वरीपरीको घेरा छोएमा भने बदर हुन्छ। कोठा बाहिर छाप लगाएमा, दुई कोठाको बीचमा पर्ने गरी छाप लगाएमा पनि मत बदर हुन्छ।


त्यसैले, आफ्नो मत बदर हुनबाट बचाउन आफूले छाप लगाउन चाहेको निर्वाचन चिन्ह भएको कोठाभित्र पर्ने गरी र वरीपरीको रेखालाई नछुने गरी छाप लगाउनुपर्छ। कहिलेकाहीँ मतपत्र पट्याउँदा छाप लत्पतिने वा अर्को कोठामा पनि छाप बस्न सक्छ। त्यसैले मतपत्र पट्याउँदा पनि ध्यान दिएर सहि तरिकाले पट्याउनु पर्ने ढकालले बताए।


आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमुना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ । यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा ‘रूख, सूर्य र आँखा गरी तीन वटा मात्र चुनाव चिह्न छन्, ।’ प्रनिनिधिसभातर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ । दोलखाको मतपत्रमा १५ वटा चुनाव चिह्न छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ । त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभातर्फ ९ वटा चुनाव चिह्न छन् । त्यसैगरी संखुवासभामा ११, खोटाङमा १०, रसुवामा ११, धादिङ २ मा ११, सिन्धुपाल्चोक १ मा १३, रामेछापमा १२, लमजुङमा ११ चुनाव चिह्नको मतपत्र बनेको छ ।


खोटाङ र सिन्धुपाल्चोक क्षेत्र २ को मतपत्रमा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का मतदाता झुक्किने स्थितिमा छन् । ती क्षेत्रको मतपत्रमा ठीक तलमाथि गोलाकारभित्र हलो र आयातकारभित्र हलो चुनाव चिह्न छन् । राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न गोलकारभित्र हलो र लोहनी नेतृत्वको राप्रपाको चुनाव चिह्न आयातकारभित्र हलो भएकाले मतदातालाई आफ्नो चिह्न छुट्याउन गाह्रो हुने देखिन्छ ।


प्रदेशसभा प्रत्यक्षतर्फ पनि मनाङका दुवै क्षेत्रको मतपत्र सबैभन्दा सानो छ । मनाङको प्रदेशसभा १ र २ को मतपत्रमा २÷२ वटा मात्र चुनाव चिह्न छन् । मनाङको प्रदेशसभा २ को मतपत्रमा रूख र स्वतन्त्र उम्मेदवारको बालक चुनाव चिह्न छन् । मुस्ताङको प्रदेशसभा १ मा दुई वटा मात्र चुनाव चिह्न छन् भने प्रदेशसभा २ को मतपत्रमा भने ४ वटा चुनाव चिह्न छन् ।


प्रदेशसभातर्फ बाजुराका दुवै प्रदेशसभामा ४-४ वटा चुनाव चिह्न छन् । प्रतिनिधिसभातर्फ ७ वटा चुनाव चिह्नको मतपत्र बनेको म्याग्दीको प्रदेश १ को मतपत्र पनि निकै छोटो छ । यो क्षेत्रको मतपत्रमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र राप्रपाको गाई मात्र चुनाव चिह्न छन् । 


डोल्पाको प्रदेश १ र पूर्वीरुकुम जिल्लाको प्रदेश २, बैतडीको प्रदेश २ को मतपत्रमा पनि २ वटा मात्र चुनाव चिह्न छन् । प्रदेशसभातर्फ धादिङको प्रदेशसभा १ को मतपत्र सबैभन्दा ठूलो १७ चुनाव चिह्न समेटिएका छन् ।