समानुपातिकतर्फ ६ हजार ९४ उम्मेदवारको बन्दसूची सार्वजनिक

Posted on: November 03, 2017 | views: 121

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आज सार्वजनिक गरेको छ ।


समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत एवं आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा समानुपातिक निर्वाचनमा राजनीतिक दलहरूबाट जम्मा ६ हजार ९४ उम्मेदवारको बन्दसूची समावेश भएको प्रारम्भिक विवरण रहेको जानकारी दिनुभयो ।


निर्वाचन कार्यक्रम अनुसार यही कात्तिक १८ गतेदेखि कात्तिक २४ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यता सम्बन्धमा दाबी–विरोध गर्न निवेदन दिन सकिने, कात्तिक २५ देखि मङ्सिर १ गतेसम्म त्यस्ता दाबी विरोधका निवेदनमाथि जाँचबुझ र निर्णय गर्ने कार्यक्रम रहेको छ । 


जाँचबूझ सकिएपछि बन्द सूचीबाट नाम हटेको सूचना प्रकाशित गरी आगामी मङ्सिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।