यस्तो छ १ लाख २५ हजार मतदाता रहेको खोटाङको चुनावी चहलपहल

Posted on: October 26, 2017 | views: 113

खोटाङ ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मनोनयन दर्ता भएसंगै खोटाङमा चुनावी माहोल बढेको छ ।

प्रतिनिधि सभा सदस्यमा चुनिने एक जना र प्रदेशसभामा चुनिने दुई जना सदस्यका लागि १२ दलका १९ उम्मेद्धवारले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता भएसंगै सबै दल चुनावी कार्यतालिका बनाएर चुनावी मैदानमा उत्रिएका छन् । 


नेपाली कांग्रेसले मनोनयन दर्ता गरेसंगै जिल्लाका ७९ वटै वडामा चुनावी प्रचारप्रसारको अभियानलाई तीब्रता दिइएको जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताउनुभयो ।


नेकपा एमाले र माओवादी केन्द्रको संयूक्त गठबन्दनले कार्तिक १३ र १४ गते जिल्लामा संयूक्त कार्यक्रम गर्ने निर्णय गरेको र सोही अनुरुपको चुनावी कार्यतालिका तय भएको नेकपा एमालेका उपसचिव कुमार आचार्यले बताउनुभयो ।


चुनावमा जुनसुकै पार्टी तथा विचारधाराको भएपनि खोटाङको समग्र विकासका सशक्त उम्मेदवार बिजय हुनेपर्ने रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलका स्थानीय समुन्द्रप्रसाद जोशीले बताउानुभयो ।


यस्तै, दिप्रुङ गाउँपालिका १ याम्खाका स्थानीय दिनेश पौडेल निर्वाचनमा जनताको भावना बुझ्ने र विकासप्रेमी उम्मेदवार निर्वाचित हुनेपर्ने बताउँछन् ।


जिल्लाका सवै दलले आचासंहिताको अधिकतम पालना गर्नका लागि राजनैतिक दलहरु पनि सहमत भएकोले अनिवार्य आचासंहिता उनिहरुले पालाना गर्नुपर्ने र नगरेको खण्डमा कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।


निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित बनाउँन शान्ति सुरक्षाको लागि शुरक्षा निकायलाई तैनाथ रहन निदर्शेन गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनुभयो ।


जिल्लामा १३६ मतदानस्थल तथा  १७९ मतदान केन्द्र रहेका छन् । निर्वाचनमा १ लाख २५ हजार १ सय ८ जना मतदाता मदतानमा सहभागी हुनेछन् ।