एमाले माओवादी मिल्ने भएपछि काँग्रेस प्रचण्ड फकाउँदै

Posted on: October 03, 2017 | views: 264

भैरहवा ।

सत्ता साझेदा रहेको माओवादी केन्द्रले आसन्न निर्वाचनमा नेकपा एमालेसँग सहकार्य गर्ने बताएपछि नेपाली काँग्रेस माओवादीलाई फकाउन थागिपरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आगामी चुनावमा माओवादी केन्द्रसँग चुनावी तालमेल हुन सक्ने भन्दै यसको खुलाशा गरेका छन् ।

कांग्रेसको संगठन खस्किएको भन्दै उनले चुनावमा माओवादीसँग तालमेल गर्नु राजनितिक बाध्यता भएको समेत बताएका छन् ।

आगामी चुनावका लागि एमाले र माओवादी केन्द्रबीच तालमेलको प्रयास भइरहेका बेला कोइरालाले माओवादीसँग कांग्रेसको पनि वार्ता भइरहेको बताए ।

मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री कोइरालाले अन्य दल भन्दा माओवादी केन्द्रसँग तालमेल हुनसक्ने बताए ।

उनले भने, ‘चुनावमा तालमेल नगर्ने हो भने विजयी हुन सक्नु पर्‍यो नभए तालमेल गरेर जानुपर्‍यो ।’ तालमेलका विषयमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच आजै भेटवार्ता हुने उनले बताए ।