राति १२ बजेबाट मौन अवधि, 'भोट नहाल्ने मन्त्री २ नम्वर प्रदेश नजाउ' : आयोग

Posted on: September 15, 2017 | views: 230

काठमाडौं ।

असोज २ गते प्रदेश नम्बर दुईमा हुने निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुँदैछ ।


निर्वाचनको मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी तथा स्वतन्त्र उम्मेदवारहरू र नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका  प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।


मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, एस।एम।एस।, फेसबुक, भाइवर जस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने र उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने आयोगले जनाएको छ । 


भयरहित निर्वाचन गराउन आयोग प्रतिबद्धः प्रमुख आयुक्त


प्रमुख निर्वाचन आयुक्त डा।अयोधिप्रसाद यादवले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । 


निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, निर्वाचनसँग सरोकार राख्ने व्यक्ति तथा समूहसँग आज वीरगञ्जमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले आचार संहिता उलंघनका घटना भेटिएमा कडा कारवाही गरिने बताउनुभयो । 


आयुक्त यादवले नेपाल भारत खुला सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिदै निर्वाचनपछि मतगणनालाई ५ दिन भित्रै सकिने गरी कर्मचारी व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई आग्रह पनि गर्नुभयो । 


भोट नहाल्ने मन्त्री २ नम्वर प्रदेश नजाउ : आयोग


निर्वाचन आयोगले आगामी असोज २ गते तेस्रो चरणको स्थानीय तह निर्वाचन हुन लागेको प्रदेश नं। २ का जिल्लाहरूमा आफ्नो मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरूलाई उपस्थित नभइदिन आग्रह गरेको छ ।


असोज २ गते हुने मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्रीहरू बाहेक अन्य मन्त्रीहरूको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्न सक्ने भएकाले मताधिकार प्रयोग गर्नुनपर्ने मन्त्रीहरूलाई निर्वाचन हुने जिल्लाहरूमा उपस्थित नभइदिन आग्रह गरेको आयोगका ंप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।


आज राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू हुने भएकाले मताधिकार प्रयोग गर्नुनपर्ने मन्त्रीहरूलाई जिल्लामा उपस्थिति नभइदिन आयोगले आग्रह गर्दै बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, धनुषा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्रसमेत पठाएको निर्वाचन आयोगले जनाएको छ ।