प्रधानमन्त्रीको भारत भ्रमण : पुराना सन्धि सम्झौता कार्यान्वयनमा जोड

Posted on: August 11, 2017 | views: 269

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणका क्रममा पुरानै सन्धि, सम्झौता कार्यान्वयनमा जोड दिने भएका छन् । प्रधानमन्त्रीले दुई दशकदेखि कार्यान्वयनमा नआएको पञ्चेश्वर परियोजनालाई पहिलो प्राथमिकतामा राख्ने तयारी गरेका छन् । पहिलो पटक प्रधानमन्त्री बन्दा गरेको भारत भ्रमणका क्रममा देउवाले नै पञ्चेश्वर बहुद्देश्यीय परियोजनासहितको महाकाली सन्धिमा हस्ताक्षर गरेका थिए ।

सुदूरपश्चिम र मध्यपश्चिम (हाल प्रदेश ७ र ५)को विकासका लागि कोशेढुंगा मानिएको उक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको छैन । देउवाका भारतीय समकक्षी नरेन्द्र मोदीले समेत आफ्नो पहिलो नेपाल भ्रमण क्रममा उक्त परियोजनाको कार्यान्वयनमा जोड दिएका थिए । प्रदेश ७ देउवाको निर्वाचन क्षेत्र रहेको प्रदेश पनि हो । पञ्चेश्वर परियोजना कार्यान्वयनमा आउँदा उक्त प्रदेशको आर्थिक विकासमा कायापलट आउने विषय हालसम्म चुनावी एजेन्डामै सीमित छ ।

‘पुराना परियोजनाहरु कुन, कस्तो अवस्था छन्, कार्यान्वयन किन हुन सकेनन् र तिनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा भारतीय पक्षसँग छलफल हुने छ,’ प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले अनलाइनखबरसँग भने ।

तथापि, प्रधानमन्त्रीको भ्रमणका एजेन्डा यकिन भइनसकेको उनले जानकारी दिए । भट्टराईका अनुसार परराष्ट्र मन्त्रालयको संयोजनमा अन्तर-मन्त्रालय छलफल चलिरहेको छ र अर्को सातासम्म एजेन्डाहरु तय भइसक्ने छन् ।

‘हामीले नेपालको स्वार्थलाई केन्द्रमा राख्नुपर्छ । र, नयाँ विषयहरु थप्दै जानेभन्दा विगतका सहमति द्रुत गतिमा कार्यान्वयनमा बढी जोड दिनुपर्छ,’ पूर्वपरराष्ट्र मन्त्री प्रकासशरण महतले भने, ‘गण्डक सम्झौताअनुसार जति नहर बन्नु पर्ने हो, काम भएको छैन । त्यो हाम्रै कारणले अगाडि नबढेको हो । महाकालीमा दुई वटा सिँचाइ आयोजनमा भारतीय पक्षबाट डीपीआर आएको छैन ।’