भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्री रेणु दाहाल २०३ मतले विजयी

Posted on: August 05, 2017 | views: 623

चितवन ।

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्र र नेपाली काँग्रेसकी संयुक्त उम्मेद्धार रेणु दाहाल २०३ मतले बिजयी भएकी छिन् ।


माओवादी कार्यकर्ताले वडा नम्वर १९ को मतपत्र च्यातेपछि रोकिएर पुन मतदानपछि भएको मतगणनामा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् ।


उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी छन् ।


भरतपुर महानगरपालिकामा कांग्रेस(माओवादी गठबन्धनबाट प्रचण्डपुत्री रेणु चुनावी मैदानमा थिइन् ।  एमालेबाट देबी ज्ञवाली मेयर र दिव्या शर्मा उपमेयरको उम्मेदवार थिए ।


चुनाव भएको झण्डै तीन महिनापछि अन्तिम नतिजा सार्वजनिक भएको हो । भरतपुर महानगरपालिकामा पहिलो चरणमा बैशाख ३१ गते निर्वाचन भएको थियो ।


भरतपुर १९ नम्बर वडाको मतगणनाको क्रममा गत जेठ १४ गते मध्यराति माओवादी कार्यकर्ताहरुले मतपत्र च्यातेपछि गणना स्थगित गरिएको थियो । मतपत्र च्यातिएपछि सो वडाका सबै मत बदर गर्दै निर्वाचन आयोगले साउन २० गते पुनः मतदान गराएको थियो ।


मतपत्र च्यातिनुअघिसम्म एमाले उम्मेदवार देबी ज्ञवाली रेणु दाहालभन्दा ७८४ मत अन्तरले अघि थिए ।