अमेरिकामा कार दुर्घटनामा नेपालीको निधन, २९ हजार डलर सहयोग संकलन

Posted on: May 03, 2016 | views: 423

१० चैत, अमेरिका ।
अमेरिकाको ओक्लोहामामा कार दुर्घटनामा परि शनिबार राति एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सात महिना अघिमात्र अध्ययनका लागि आएका काठमाडौं पकनाजोलमा २१ बर्षिय रुसल श्रेष्ठको कार दुर्घटनामा परि निधन भएको हो ।

राती साँडे १० बजेको समयमा भएको कारण दुर्घटनाका क्रममा श्रेष्ठको घटनास्थलमा नै निधन भएको थियो । राती काम गर्ने साथीलाई कारमा काममा छोड्न जाने क्रममा श्रेष्ठको दुर्घटनामा परि निधन भएको हो ।
उनिसँगै रहेका साथि भने सामान्य घाईते भएको र उनको देब्रो हात भाँचिएको छ ।

हाइवेमा भएको कार दुर्घटनामा कार सडकबाट खाडलमा खसेको थियो । दुर्घटनाका समयमा श्रेष्ठ आफैंले गाडी चलाएका थिए ।

ड्यालसस्थित ब्रोकहेभन कलेजमा अध्ययनरत श्रेष्ठको शब नेपाल पठाउने तयारी भइरहेको छ ।

यसैबिच श्रेष्ठको सहयोगार्थ नेपाली समाजले आव्हान गरेको आर्थिक संकलन अभियानमा एकै दिनमा झण्डै ३० हजार डलर सहयोग जुटेको छ ।
 
नेपाली समाज टेक्सासले सोमबार बिहान सहयोगको निम्ति आव्हान गरेकोमा अनलाइन ‘गो–फण्ड’ मार्फत २४ हजार पाँचसय डलर र सोमबार समाजको कार्यालय अर्बिङ ड्यालसमा आयोजित सभामा नगद झण्डै चारहजार सातसय डलर सहयोग संकलन भएको हो ।

मृतक श्रेष्ठको शव नेपाल पठाउनको लागि संकलन गरिएको सहयोग धेरै उठेपछि बाँकी रहेको रकम उनको परिवारलाई बुझाइने भएको छ ।