साउदीमा बन्दी बनेका ७ नेपाली महिलाको उद्धार

Posted on: May 02, 2016 | views: 227

८ चैत, साउदीअरब ।
साउदी अरबमा घरेलु कामदारको लागि गएर बन्दी बनेका ७ नेपाली महिलाको उद्दार गरिएको छ ।

अवैधानिक बाटो हुँदै उनिहरु साउदी आइपुगेको बताइएको छ । लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलालाई रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको छ ।

दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावास  आश्रयमा लिन आइपुगेका थिए ।

पारिश्रमिक नपाएको तथा, मानसिक र शारीरिक यातना भोगेका उनिहरु जीवन रक्षा गरिदिन भन्दै दुतावास पुगेका थिए ।

उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई स्वदेश पठाइएको कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले बताएका छन् ।
यसरी नेपाल फर्काइएकामा डाँडाबारी–३ झापाकी रीतादेवी मगर, खर्वाङ–७ बागलुङकी झवी राना, गुलरिया–७ बर्दियाकी मीना विक, बाबियाबिर्ता–७ मोरङकी मायादेवी राजधामी, ओखरकोट–९ प्यूठानकी जमुना रोका, त्रिवेणी–२ नवलपरासीकी पार्वती थापा र बेथान–५ रामेछापकी जानकी लामा रहनुभएको छ ।

कुबेतबाट आएर गैरकानुनी रुपमा बसेकाहरुलाई १५ हजार साउदी रियाल जरिवाना भुक्तान नगरी नेपाल पठाउन नमिल्ने जनाएपछि कावा राजदूत शर्माले यहाँको अध्यागमन विभागका प्रमुखलाई भेटेर स्वदेश फिर्तीका लागि आग्रह गर्नुभएको थियो

शर्माको आग्रहलाई स्वीकार गरी अध्यागमन विभागका प्रमुखले जरिवाना मिनाहा गरी स्वदेश फर्काउन सहमत भएपछि ती नेपाली चेली स्वदेश फर्कन सफल भएका हुन् ।