अन्त्येष्टि गरेको २ वर्षपछि विदेशबाट शव आइपुग्यो

Posted on: November 08, 2016 | views: 409

२३ कार्तिक, काठमाडौं ।

बाँकेको ए गाउँ सीतापुरबाट झन्डै १६ घण्टा लामो बसयात्रापछि सोमबार वीरबहादुर खत्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका थिए। सिट नपाएपछि उभिएरै गरेको यात्राका कारण उनी थाकेका त थिए नै त्योभन्दा ठूलो चिन्ता उनको मनमा थियो ।

साढे चार वर्षअघि साउदी अरबमा सडक दुर्घटनामा परी मृत्यु भएका छोरा हर्षमान खत्रीको शव बल्ल काठमाडौं आइपुगेको थियो। वीरबहादुर छोराको शव लिन आएका थिए। यो खबर आजको कान्तिपुरमा छापिएको छ ।

शव अहिले आइपुगे पनि वीरबहादुरले दुई वर्षअघि नै विधिपूर्वक छोरा हर्षमानको किरिया गरिसकेका थिए। मृत्यु भएको दुई वर्षसम्म पनि शवको पत्तो नलागेपछि उनले घरछेवैको चिरनखोलामा कुशको शव बनाएर दाहसंस्कार सम्पन्न गरेका थिए ।

किरिया सकेको दुई वर्षपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालयले उनलाई खबर गर्‍यो, ‘तपाईंको छोराको शव साउदीको किङ फहाद होफुफ अस्पतालमा भेटिएको छ ।’

काजकिरिया गरिसकेका छोराको शव नेपाल ल्याउने प्रक्रियाका लागि त्यसपछि वीरबहादुर पछिल्ला ६ महिनामा तीन पटक काठमाडौं धाए। परराष्ट्र मन्त्रालयदेखि, कन्सुलर शाखा, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डदेखि गृह मन्त्रालयसम्म धाए। उपराष्ट्रपति नन्दबहादुर पुन, अर्थमन्त्री कृष्णबहादुर महरादेखि परराष्ट्र मन्त्रालयका उच्च अधिकारीसम्मलाई भेटेर सरकारले नै खर्च बेहोर्ने गरी शव ल्याउने प्रक्रिया सुरु भएको थियो। मन्त्रिपरिषदले शव ल्याउने खर्च बेहोर्ने निर्णय भएको झन्डै तीन महिनापछि हर्षको शव आइपुगेको हो।

विमानस्थलमा भेटिएका वीरबहादुरले भने, ‘दुस्खी भनौं भने महिनौंको दौडधुपपछि छोराको शव आएको छ। खुसी भनौं भने, शव छोराको देख्दा केको खुसी लाग्छ र रु’

कक्षा आठ पास गरेपछि झन्डै डेढ वर्ष माओवादी पार्टीमा प्रवेश गरी सशस्त्र द्वन्द्वमा लागेका हर्षमानपछि वैदेशिक रोजगारीमा साउदी अरब गएका थिए। छोरा माओवादी कार्यकर्ता रहेकाले गर्दा माओवादी सरकारले उनको शव छिटो ल्याउन पहल गरिदिन्छ भन्ने आस वीरबहादुरको थियो।

दुर्घटनाको चार वर्षपछि मात्रै गत वैशाखमा रियादस्थित नेपाली दूतावासले ठेगाना प्रस्ट नभएको भनिएको शव हर्षमानकै रहेको पत्तो पाएको थियो। उनको शव डेनिस खत्रीको नाममा दर्ता गरिएका कारण शवको पहिचान खुलेपछि पनि नेपाल पठाउन समस्या परेको थियो। फरक नाममा रहेको शव हर्षकै हो भनेर प्रमाणित गर्न दूतावासलाई लामो समय लागेको थियो।

छिमेकी कमलसिंह खत्री र टंक पोख्रेलको साथ लागेर काठमाडौं आएका वीरबहादुरले भने, ‘यस्तो सास्ती कसैले नखेपोस्।’ छिमेकी टंकका अनुसार छोराको शव आएको खबर थाहा पाएदेखि नै घरमा गाउँलेहरूको भीड लागेको छ। छोराको मृत्युलगत्तै महिनौं शोकमा डुबेको परिवार शव फेला नपर्ने निश्चयमा पुगेपछि कुशको शव बनाएर किरिया गर्ने बेलामा दोस्रो पटक शोकमा डुबेको थियो। टंकले भने, ‘एउटै मृत्युमा परिवारका सदस्यले तेस्रो पटक शोक भोग्नुपर्‍यो।’

२०६८ मा साउदी अरब पुगेका हर्ष २२ महिनापछि सडक दुर्घटनामा परेका थिए। त्यतिबेला बाबु वीरबहादुर पनि साउदीमै थिए। छोराको मृत्युको खबर थाहा पाएपछि उनले महिनौं शवको खोजी गरेका थिए। तर, पत्ता नलागेपछि नेपाल फर्केका थिए। कुशको शव बनाएर पहिले नै तेह्र दिन किरिया गरेकाले पण्डितले पाँच दिनमै किरिया उम्काउने भनेको उनले बताए।

हर्षमानलाई दलाल हिरालाल ओली र उमेश आचार्यले भारतको बाटो हुँदै गैरकानुनी रूपमा साउदी पुर्‍याएका थिए। वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेका अनुसार कानुनसम्मत हिसाबले साउदी गएको भए र करार अवधिभित्रै मृत्यु भएको भए खत्रीले सरकारबाट आर्थिक सहायता पाउने थिए। वीरबहादुरका कान्छा छोरा पनि दुबईमा कार्यरत छन्।