'डीभी परेका धेरैका श्रीमती अमेरिकामा अर्कैसँग पोइला !'

Posted on: May 02, 2016 | views: 1704

जब कुनै कुरा आँखाले देखिदैन र सुनिन्छ मात्रै,  सबै कुरा सत्य लाग्न सक्छ, जुन स्वभाबिक हो । जब कुनै कुरा आँखाले प्रत्यक्ष देखिन्छ, तब सुनेका सबै कुरा सत्य नलाग्न सक्छ ।

कुनै मान्छेले केही कुरा देख्छ आफूले प्रत्यक्ष भोग्छ । तर, अरुको अगाडि त्यो दुःखलाई लुकाएर खोक्रो आडम्बर छाँट्छ भने त्यो सरासर गलत हो । जुन ब्यबहार डिभी परेर अमेरिका आउने ९० प्रतिशत नेपालीहरुले नेपालमा बस्ने नेपालीहरुलाई देखाइरहेका हुन्छन ।

डिभी चिट्ठा परेर अमेरिका आउनेहरुको पीडा एयरपोर्टबाट नै शुरुवात हुन्छ, जुन मैले प्रत्यक्ष आँखाले देखेको छु । म अमेरिका आउँदा नेपाल एयरपोर्टमा आफूसँगै अमेरिका आउन लागेको एउटा परिबार नै भेटें, मैले । जुन हामी दुबैको लागि खुसीको कुरा थियो । किनकी हामी पहिलोपल्ट अमेरिका आउदै थियौं र बाटोभरी गफ गर्दै जाने साथी पाएको थियौं, हामीले ।

२ जना श्रीमान-श्रीमती र उहाँहरुको १ बर्षको सानो छोरी अनि त्यो सानो नानीसँग प्लेन भरी खेल्दै रमाउदै गरेको त्यो लामो यात्रा । मेरो लागि साँच्चिकै रोमान्चित बन्यो । हामी सबैजना उत्साहित देखिन्थ्यौं, किनकी हामी धेरैको सपनाको देश अमेरिका जाँदै थियौं ।

हाम्रो प्लेन जब जेएफके एयरपोर्ट न्यूयोर्कमा ल्यान्ड हुने-हुने समय हुन लाग्यो तब झ्यालबाट तल हेर्दा देखिने न्यूयोर्क सिटीको त्यो दृश्यले हामीलाई झन धेरै उत्सुक बनाएको थियो ।

डिभी चिट्ठा परेर अमेरिका छिर्नेहरुको लागि अलि लामो प्रोसेस हुँदोरहेछ एयरपोर्टमा। त्यसैले सँगै आएको साथीहरुलाई आउँदै गर्नुस् हैं भनेर म जतिसक्दो चाडो त्यहाँबाट बाहिर निस्किन आतुर थिएँ । कारण- बिबाह गरेको १ महिनामा अमेरिका फर्किएका मेरो श्रीमानलाई लगभग ३ बर्षपछि भेट्दै थिएँ, म ।

मेरो लागि त्यसभित्रको १ मिनेट पनि धेरै लाग्न थालिसकेको थियो । जब गेटमा पुगेर श्रीमान भेटें, मेरो खुसीको सीमै रहेन । एकछिन आफ्नै संसारमा हराएँ, म । केहीछिन पछि झल्यास्स भएँ, साथीहरु कता गए होलान भनेर ।

उहाँहरु पनि यता उता हेर्दै मलाई नै खोजिरहनु भएको रहेछ । श्रीमानलाई संगै आएको साथीहरु चिनाएँ । र भनेँ- ‘उहांहरु पनि नयां हुनुहुन्छ, त्यसैले उहाँहरुलाई पनि ब्यबस्थित नगरी हामी हिड्न मिल्दैन ।’

‘कोही आएको छ तपाईहरुलाई लिन ?’ उहाँले प्रश्न गर्नुभयो।

साथीहरुको त्यो उत्सुकता र हाँसो भरिएको अनुहार अब डर र हतासमा परिणत भइसकेको थियो । नयाँ ठाउँ र नयाँ मान्छेहरु देख्दा त्यस्तो हुनु स्वभाबिक हो ।

त्यही पनि उनले भने- ‘एकजना आफन्त पर्ने दाई आउँछु भन्नु भएको थियो ।’

कुन ठाउँबाट ? फलानो ठाउँ ।

ओहो ! त्यो ठाउँ त टाढा छ यहाँबाट ३ घण्टा ड्राइभ गर्नुपर्छ ।

फोन नम्बर छ, तपाईहरुसँग ?

‘छ  । इमेलमा छ ।’- उनले जवाफ दिए ।

उहाँले फोन दिनुभयो ।

उनले इमेल चेक गरे  अनि नम्बर दिए। मेरो श्रीमानले आफै फोन गर्दिनुभयो ।

उताबाट ती दाईको जवाफ आयो-  ‘ए आइपुग्यौ  तिमीहरु ? ल बस्दै गर, अब म हिड्छु । लगभग साँझ परिसकेको थियो । हामीलाई पनि अब ढुक्क लाग्यो त्यसैले उनीहरुसँग बिदा भएर आफ्नो घरतिर लाग्यौं ।

घर आएर पनि र लामो समयपछि श्रीमान भेटे पनि मेरो मन छटपटाई रहेको थियो । फेब्रुअरी महिनाको त्यो चिसो अनि बाहिर हेर्दा देखिने सेताम्मे हिउँ ।मेरो मनमा त्यही कुरा खेलिरहेको थियो । ओहो ! त्यो दाई कतिबेला लिन आयो होला, कतै आएन कि बा ! त्यो सानी नानीलाई कति जाड़ो भयो होला ? हरे ! सँगै जाउँ भनेर लिएर आउनुपर्ने रहेछ बरु यस्तै यस्तै।

त्यसको लगभग १ महिनापछि उहाँहरुसँग सम्पर्क भयो मेरो, फोन मार्फत । मैले त्यो बेला के के भयो सबै कुरा सोधेँ ।

उनको जवाफ थियो- ‘केहि समयपछि आउँछु भनेको त्यो दाई लगभग रातिको ११ बजेतिर आउनुभयो । एयरपोर्ट बाहिरको त्यो चिसो ओहो ! रुनु न हाँस्नु भएँ, नेपाललाई धेरै सम्झिए कहाँ आएछु यस्तो नर्कमा जस्तो महसुस भयो !

मेरो दुःख एयरपोर्टबाट नै शुरू भयो, जे सुनिन्छ, फोटो भिडियोमा जे देखिन्छ त्यस्को ठ्याक्कै उल्टो रहेछ अमेरिका !  किन डीभी परेछ मलाई नै जस्तो लाग्छ, नेपालको सबै कुरा सम्झिँदा त अहिले नै फर्किहालुँ जस्तो लाग्छ नि ! के गर्नु ? आइयो फसिहालियो अब न एता न उता बस्नै पर्यो नि ।

यसबाट मैले के बुझेँ भने एयरपोर्टबाट नै शुरू हुँदोरहेछ नेपालीको दुःख । यो त एउटा सानो उदाहरण मात्रै हो, यस्ता धेरै कथा ब्यथाहरु छन् मैले आँखाले देखेका र नजिकका मान्छेहरुबाट सुनेका ।

अमेरिका आएपछि यहाँ बस्ने नेपालीहरुसंग सम्पर्क हुन थाल्यो अनि सुनिन थाले उनीहरुको कथा, नेपालमा हुँदा सानै देखि देखेको चिनेको दाई हुनु हुन्थ्यो फेसबुक बाट नम्बर लिएँ र सम्पर्क गरेँ ।

दाई के छ खबर रु निराश् स्वरमा दाईले भने – ‘के हुनु नानी बेहाल छ नि ।’

‘किन ? के भयो र त्यस्तो ?’ मैले फेरी प्रश्न गरेँ ।

दाईले आफ्नो वास्तबिक कथा बेलीबिस्तर लगाए- बिबाह गरेको १ बर्ष भएको थियो । डीभी पर्यो श्रीमतीका साथ हाँसीखुसी अमेरिका आएँ । केही नेपालीहरु भेटे खुसी लाग्यो, मलाई र श्रीमतीलाई कामको केही टेन्शन भएन, एकजना नेपालीको आफ्नै स्टोर रैछ। त्यसमै बुढीलाई काम दिए । मलाई पनि काम खोजिदिए । उनीसँग एकदम राम्रो सम्बन्ध भयो ।

त्यसपछि उनले नै आइडिया दिए नेपालबाट पैसा मगाउने र अर्को पनि स्टोर खोलेर चलाउने । उसको कुरामा मख्ख परेँ अनि नेपालमा भएको जग्गा जमीन घर सबै बेचेर पैसा मगाएँ । स्टोर खोलियो । बिज़नेस पनि राम्रो हुनथाल्यो, म भाग्यमानी रहेछु भन्ने फिल भयो ।

तर, मेरो यो खुशी त्यतिबेला  दुःखमा परिणत भयो जब आफ्नै श्रीमती त्यही साथीले भगाइदियो। श्रीमती मात्रै भागिन, उस्ले सबै कम्पनी आफ्नो नाममा पारी । र, मलाई रित्ताएर हिँडी । अब मसँग न नेपालमा केही सम्पत्ति बाँकी रह्यो, न अमेरिकामै मेरो नाममा केही छ ।

म त सारै पीडित भएँ, डीभी पर्नु नै मेरो लागि ठूलो दशा भयो । आज म नेपालमा हुन्थेँ भने म सँग मेरो श्रीमती हुन्थी, मेरो घर हुन्थ्यो, मेरो बिज़नेस हुन्थ्यो, म सुखी जिन्दगी बिताइरहेको हुन्थे । तर, आज म रित्तो छु, म सँग केही छैन ।

त्यो सुनेर म छाँगाबाट खसे जस्तो भएँ ।

यो भन्दा पनि दुःख लाग्दो कथा छ, अर्को । जसलाई मैले लगभग प्रत्यक्ष देखेको छु र बुझेको छु। चीनजानकै मान्छे । आज भन्दा लगभग ७-८ बर्ष अगाडि डीभी परेर अमेरिका आउने भए । नेपालमा उनको भब्य बिदाइ गरियो। बिबाह गरेको केही समयमा नै उनको श्रीमतीलाई डीभी परेकोले उनलाई सबैले भाग्यमानीको संज्ञा दिए ।

हाँसीखुशी श्रीमानश्रीमती अमेरिकातिर लागे । केही बर्ष उनीहरूका रमाइला तस्बीरहरुले फेसबुकका भित्ताहरु भरिए । अमेरिका आएको लगभग २-३ बर्ष पछि सुनियो कि फलानोको श्रीमती त उसलाई छोडेर अर्कैसंग पोइल गई रे !

एक कान दुई कान मैदान भने जस्तो, नराम्रो कुरा न हो जति लुकाए नि लुक्न सकेन । आखिर कुरा सत्यतामा परिणत भयो। श्रीमती अर्कोसँग हिडेको झ्वाँकमा उनले फेसबुकमार्फत एउटी हेर्दैमा सुन्दर देखिने केटी पट्टाए । उसलाई जतिसक्दो चाडो त्यो हिँडेकी श्रीमतीलाई देखाउनु थियो ।

त्यसैले फोटो हेरेकै भरमा नेपालमा बिबाहको तयारी गर्न लगाए । बिबाह पहिलाको भन्दा भब्य भयो पूरै बाजागाजाको तामझामका साथ बिबाह गरे । पार्टीको त झन कुरै नगरौँ, कति हो कति खर्च । सुने अनुसार अमेरिका बसुन्जेल जोगाएको पैसा बिबाह र पार्टी मै खर्च भयो रे !

केही महिनाको रमाइलो पछि उनी श्रीमतीलाई नेपालमै छाडेर अमेरिका फर्किए, महिनैपिच्छे खर्च नि पठाइरहे। श्रीमतीको सबै भिसा प्रोसेस मिलाएर २ बर्ष पछि आफू सँगै अमेरिका लिएर आए ।

श्रीमती अमेरिका आएकै १ महिनामा उनको हातमा ग्रीन कार्ड आयो त्यसपछि त्यो श्रीमतीले पनि आफ्नो बाटो तताई। आजकल फेसबुकका भित्ताहरुमा श्रीमतीको अर्कै केटोसँग अंगालो हालेको तस्बीर देखिन्छ भने २ वटी श्रीमतीले छोडेर हिडेको पीड़ामा उसको हातमा रक्सीका बोतल मात्रै। एकातिर पैसाको नास, अर्कोतिर समयको बर्बाद । त्यों भन्दा ठूलो मानसिक पीड़ा के हुनसक्छ । बिचरा जिन्दगी !

त्यो पीड़ा देखेर मेरो कानमा आजकाल एउटै आवाज गुन्जिने गर्छ, उसको आमाले भनेको – यो डीभी भन्ने के आयो के ? मेरो छोराको जिन्दगीनै बर्बाद गर्दियो, २ वटीले छोडेर हिडे, पैसा सबै सकियो, आज डीभी नपरेको भए काठमाडौंमा घर हुन्थ्यो, राम्रो जागिर हुन्थ्यो, श्रीमती छोराछोरीको साथ हुन्थ्यो । कति सुखी भएर बाँच्थ्यो होला, मेरो छोरा ।

यदि तपाईसँग धेरै पैसा छ र बिज़नेसको आइडिया छ भने डिभी पर्नु धेरै राम्रो कुरा हो । तपाई अमेरिका आएर आनन्दले बिज़नेस गर्न सक्नुहुन्छ । पढ़न सक्नुहुन्छ । डीभी परेर अमेरिका आएर सुखी जिन्दगी बिताउनेहरु पनि छन यहाँ । तर १० प्रतिशत बाँकी ९० प्रतिशत नेपालीको पीड़ा उस्तै छ । डीभी पर्नासाथ नेपालमा भएको घर जग्गा बेच्ने, भएको राम्रो सरकारी जागिर छोडने, नेपालमा मज्जाले चलिरहेको बिज़नेस व्यवसाय यत्तिकै बन्द गरेर आँखा चिम्लेर अमेरिका भन्ने बित्तिकै हाम्फाल्नेहरु धेरै पछुताएका छन, यहाँ ।

नेपालमा कुर्सीमा बसेर गफ लडाएर खान पल्केकाहरुलाई दिनको १० -१२ घण्टा उभिएर जस्तोसुकै काम भए पनि गर्नैपर्ने त्यो बाध्यता नेपालमा बस्नेले कल्पना पनि गर्न सक्दैन । नेपालमा बस्नेहरुले त्यही देखिन्छ चिल्लो सड़क, ठूला-ठूला बिल्डिंग, सुकिला-मुकिला कपड़ा लगाएर समुन्द्री किनारमा खिचिएका ती तस्बीर र भिडियोहरु ।

किनकी यहाँको वास्तबिक जिन्दगी सबैले लुकाउछन्, ग्यास स्टेशनमा १०-१२ घण्टा उभिएर थकित भएको फोटो खिचेर कसैले फेसबुकमा राख्दैन यहाँ । रेस्टुरेन्टमा भाड़ा माज्दै गरेको या वेटर बनेर प्लेट उचाल्दै गरेको फोटो कसैले पोस्ट गर्दैन फेसबुकमा । कसैको घरमा खाना बनाउँदै गरेको, ट्वायलेट सफा गर्दै गरेको फोटो कसैले खिच्दैन यहाँ । यस्ता धेरै उदाहरणहरु छन्, जुन भनी साध्य छैन । लेखेर साध्य छैन।

त्यसैले फेसबुकमा पोस्ट भएका, हातमा रक्सीको बोतल बोकेर समुन्द्री तटमा मस्ती गरेका, ठूला-ठूला बिल्डिंग र चिल्ला सड़कहरुमा उभिएर खिचेका तस्बिर र भिडियोहरु देखेर लोभिनु भन्दा आफ्नो देश नेपालमा बस्न पाउने र आफ्नो योग्यताले सकेको काम गर्न पाउने मान्छे नै सबैभन्दा ठूलो भाग्यमानी हो। त्यसैले डीभी नपरेकोमा दुःखी हैन, खुशी हुनुहोस् र आफूलाई संसारकै भाग्यमानी ठान्नुहोस् । जय नेपाल !

रेखा ओझा- (लस एञ्जलस, क्यालिफोर्निया)
Source: sajha.com