विदेशमा मानव तस्कर गर्नेलाई नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन हुंदै

Posted on: August 10, 2016 | views: 547

२६ साउन, काठमाडौं ।
विभिन्न देशमा नेपाली कामदार अलपत्र परेपछि सरकारले आपतकालिन उद्धार गरिरहेको छ । बैदेशिक रोजगारको नाममा दलाल वा म्यानपावर कम्पनीले  झुक्याएर लाने र वीचमै अलपत्र छोड्दा नेपालीले विदेशमा दुःख र यातना पाएको समाचार आएपछि सरकारले उद्धार कार्य अघि बढाएको हो ।

श्रीलंका, ओमान, कुवेत, मलेशिया लगायतका देशमा नेपाली युवा युवती अलपत्र सम्बन्धी समाचार सार्वजनिक भएपछि सम्बद्ध सरकारी निकाय अहिले गंभिर देखिएका छन । परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालय आपतकालिन उद्धारमा जुटेको छ भने नेपाल प्रहरी मानव तस्करको संजाल खोजिरहेको छ ।

नेपाल प्रहरीको अपराध अनसन्धान महाशाखा प्रमुख एवं  प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालका अनुसार नेपाली कामदार बढी लाने र जाने मुलुकलाई हरेर प्रहरीले मानव तस्कर विरुद्धको अप्रेसन अघि बढाइ रहेको छ ।

प्रहरी अनुसन्धानका अनुसार स्वदेशमा रहेका र विदेशमा रहेका कतिपय अवस्थामा गैरआवासीय नेपालीको समेत संलग्नतामा नेपालबाट मानव तस्कर भइरहेको छ । विभिन्न संस्थाको नाममा कालो धनलाई सेतो बनाइ समाजमा प्रभुत्व बढाइ रहेकाहरुको संरक्षण यसमा देखिन्छ । यस्ताको सुचि तयार भइरहेको छ । राजधानीबाट डन सफाया गरेजस्तै मानव तस्करको सफाया अभियानमा प्रहरीको अप्रेसन देश भित्र तथा बाहिर तिव्र पारिएको एस एसपी खनाल बताउनु हुन्छ ।  

प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार नेपाली कामदार गएका विभिन्न ३० देशबाट आफु ठगिएको, बेचिएको वा दुःखमा परेको भनी उजुरी परेको छ । त्यसमा १५९ मेनपावर कम्पनी र ७३ व्यक्ति विरुद्ध उजुरी परेको छ । सर्वसाधारणको बढी गुनासो पनि बैदेशिक रोजगारमा पठाउने संस्थाहरु माथि छ । बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष विमल ढकाल भने विदेशमा दुःख पाएका भनी समाचारमा आएकाहरु महासंघ आवद्ध संस्थाहरुमार्फत नगएको दावी गर्नुहुन्छ ।

प्रहरी तथ्यांक अनुसार यो वर्ष मात्रै विदेशमा अलपत्र परी दुःख पाएकाहरु मध्ये ५५ महिला सहित २१८ जनाको उद्धार गरिएको छ । सम्बद्ध १८ जनालाई समाति कार्वाही गरिएको छ । सरकारले स्वीकृती नलिइ विदेशी भुमि भई बैदेशिक रोजगारमा नजान तथा  अफगानिस्तान, सिरिया, इराक र लिभियामा बैदेशिक रोजगारमा जान र लान निषेध गरेको छ ।