मलेसियामा १६१ नेपाली पक्राउ, सयौं सम्पर्क बाहिर

Posted on: April 30, 2016 | views: 323

१० फागुन, क्वालालम्पुर ।
मलेसियामा डेढ सय बढी नेपाली पक्राउ परेका छन् । अबैध रुपमा काम गर्दै आएका भनिएका १ सय ६१ जना नेपाली पक्राउ परेको पुष्टि भएपनि अन्य सयौं नेपाली सम्पर्क बाहिर रहेका छन् ।

मलेसियामा गैरकानुनी रुपमा काम गर्दै आएका कामदार लक्षित मलेसियाली प्रहरीको धरपकडका क्रममा १ सय ६१ जना नेपाली पक्राउमा परेका हुन् ।

अबैध कामदारलाई नविकरणको दायरामा ल्याउने अभियान सञ्चालन गरेको मलेसिया सरकारले पुन नविकरणमा आउन नचाहने कामदारलाई पक्राउ गर्न थालेको हो ।

मलेसियाको सरकारी समाचार संस्था बर्नामाले मलाका क्षेत्रमा गरिएको धरपकडका क्रममा ती नेपाली पक्राउ गरेको बताएको छ ।

१ सय ६१ जना नेपाली पक्राउको खवर पछि अन्य सयौं नेपाली सम्पर्क बाहिर रहेको बताइएको छ । कानुनी दायरा बाहिर रहेर काम गरेको ठानिएका सम्पर्क बाहिर रहेका मध्ये केही पक्राउ परेको र केही लुकेको आशंका गरिएको छ ।

बर्नामा सञ्चारमाध्यमले उल्लेख गरे अनुसार अहिलेसम्म नेपाली सहित ९ सय ७१ जना आप्रवासी कामदार पक्रा परेका छन् ।

प्रहरीले १२ घण्टासम्म चलाएको अपरेशनमा प्रहरीले २ हजार १ सय ८२ बिदेशी कामदारको सम्पुर्ण परिक्षण समेत गरेको थियो । त्यसमध्ये ९ सय ७१ अबैधानिक भेटिएको बताइएको छ ।

मलेसिया सरकारले झण्डै २० लाख आप्रवासी कामदार अबैध रुपमा मलेसियामा बस्दै आएको बताउँदै आएको छ ।