वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ एप सार्वजनिक

Posted on: May 19, 2016 | views: 260

६ जेठ, काठमाडौं ।

सुरक्षित वैदेशिक रोजगारीबारे जानकारी दिने ‘शुभयात्रा’ मोबाइल एप सार्वजनिक गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ 'एनआरएन', द एसिया फाउन्डेसन र योङ इनोभेसन्सले निर्माण गरेको एपको श्रम तथा रोजगारमन्त्री दीपक बोहरा र सङ्घका अध्यक्ष शेष घलेले सार्वजनिक गर्नुभयो ।

एन्ड्रोइड मोबाइलमा प्रयोग गर्न सकिने एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने, श्रव्य, दृष्य, फेसबुक लिङ्क तथा लिखित सामग्री संलग्न छन् ।

वैदेशिक रोजगारीमा जान लागेका कामदारलाई विदेशको यात्रा, कामको अवधि सुरक्षित बनाउन सहयोग गर्ने सामग्रीसमेत एपमा छन् ।

एपमा कामदारको अधिकार, श्रम स्वीकृति, निवेदन प्रक्रिया, विदेशमा काम गर्दा गर्न हुने र नहुने कार्य तथा महिला कामदारप्रति लक्षित सामग्री समावेश छ ।

मन्त्री बोहराले एपले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

एनआरएनका अध्यक्ष शेष घलेले नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या दिनप्रतिदिन बढिरहेका सन्दर्भमा त्यसलाई सुरक्षित बनाउन एप सहयोगी हुने बताउनुभयो ।


कार्यक्रममा एनआरएन उपाध्यक्ष तथा नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष भवन भट्ट लगायतको उपस्थिति रहेको थियो ।