ग्रिसमा अपहरित नेपालीलाई नेपाल प्रहरीले यसरी छुटायो, अपहरणमा नेपाली नै संलग्न

Posted on: May 03, 2016 | views: 450

१७ वैशाख, काठमाडौं ।
नेपालको प्रहरी संयन्त्र अनुसन्धानमा कति सक्षम भन्ने एउटा उदाहरण बनेको छ ग्रिसमा अपहरीत नेपालीलाई नेपाल प्रहरीको मद्दतमा छुटाएको हालैको घटना ।

वैदेशिक रोजगारीका सिलसिलामा ग्रिस पुगेका एक नेपाली युवाको नेपालीहरुले नै अपहरण गरेका थिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको सहयोगमा ग्रिस प्रहरीले अपहरीत नेपाल छुटाउन सफल मात्र भएन अपहरणकारीलाइ पक्राउ समेत गरेको छ ।

नेपालको संखुवासभा चैनपुर १ ओरिङ्गा घर भई रोजगारीको सिलसिलमा ग्रिसमा रहेका २४ वर्षका कृष्ण गुरुङ अपहरणमा परेका थिए । उनले आफू अपहरणमा परेको भन्दै दाजु चन्द्रप्रसादलाई खबर गरेपछि नेपालमा सीआईबीमा उजुरी परेको थियो ।

गुरुङको वैशाख १ गते उद्दार भएको हो । हातखुट्टा बाँधिएको तथा टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा ग्रिसको किपसेलीबाट उद्दार भएको हो ।

‘हामीले पीडितलाई नेपाल ल्याउने र अपहरणमा संलग्नहरुको नेपालमा कनेक्सन खोज्ने प्रयास गरेका थियौं । तर, ग्रिस प्रहरीले थप सूचना दिएन’ सीआईबीका प्रहरी उपरीक्षक दिवेश लोहलीले भनेका छन् ।

त्यही प्रयासले गर्दा घटना सार्जनजिक गर्न केही ढिलो भएको उनको भनाइ छ ।

प्रहरीका अनुसार कृष्ण सात वर्षअघि इराक गएका थिए । तर, दुई वर्षअघि ग्रिसको थेसालोनिकीमा बसे र गत मार्चको अन्त्यतिर एथेन्स पुगे । त्यही क्रममा नेपाली आइती घलेले उनलाई आफ्नो अपार्टमेन्टमा बोलाए र नेपाली, पाकिस्तानी, भारतीय र बंगलादेशी मिलेर बन्धक बनाए ।

अपहरणकारीले पीडितका दाजुलाई फोन गरेर १४ हजार युरो फिरौती मागेका थिए । अपहरणमा संलग्न आइतीसँगै नेपाली दल थापा तामाङ पक्राउ परेका छन् ।

यस्तै भारतीय नागरिक जामाल काजी, बंगलादेशी मामुन मुल्लाह, पाकिस्तानी मन्सुर महमेद पक्राउ परेका छन् । उनीहरूलार्इ ग्रिसको कानुन अनुसार कारबाही हुनेछ ।