आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्ने

Posted on: December 12, 2017 | views: 309
काठमाडौँ । मुख्य सचिव लोकदर्शन रेग्मीले वैदेशिक रोजगारीमा जाने आप्रवासी नेपालीको मानवअधिकार संरक्षण गर्नुपर्ने बताउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगले आज ‘नेपालमा सुरक्षित वैदेशिक रोजगार र मानव बेचबिखन नियन्त्रणको लागि सुधार गर्नुपर्ने नीतिगत’ विषयक राष्ट्रिय परामर्श बैठकमा मुख्य सचिव रेग्मीले विदेशमा काम गर्ने श्रमिकले सम्मानजनक ढंगले काम गर्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले कानून नजानेर धेरै श्रमिकले विदेशमा दुःख पाएको बताउनुभयो । पारवहन विन्दु 'ट्रान्जिट'मा अहिले पनि धेरैले समस्या भोग्नुपरेको भन्दै उहाँले सम्बन्धित देशसँग समन्वय गरेर पारवहन बिन्दुमा भोग्नुपर्ने समस्या समाधान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा आयोगका सचिव वेद भट्टराईले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाई श्रमिकका मानवअधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघको सदस्यको हैसियतले नेपालले नेपाली आप्रवासीको मानवअधिकारको संरक्षण गर्नका लागि सम्बन्धित देशसँग कुरा गर्नुपर्नेमा जोड दिनुभयो । अहिले ११० देशमा संस्थागत रुपमा र १६७ देशमा व्यक्तिगत रुपमा वैदेशिक रोजगारमा जाने गरेका र १८० देशमा नेपाली रहेको सरकारी तथ्यांक छ ।