भरतपुर–१९ मा आज मतदान, उम्मेदवार एमाले र माओवादीका, भर कांग्रेस मतदाताको

Posted on: August 04, 2017 | views: 315

काठमाडौं- भरतपुर महानगरपालिका–१९ मा शुक्रबार पुनः निर्वाचन हुँदै छ । पहिलो चरणअन्तर्गत भएको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि गणना स्थगित गरिएको थियो । निर्वाचन आयोगले १९ नम्बर वडामा पुनः मतदान गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतले आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि शुक्रबार निर्वाचन हुन लागेको हो ।

मेयरका लागि माओवादी केन्द्र–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहाल र एमालेबाट देवी ज्ञवाली मैदानमा छन् । महानगरका जम्मा २९ मध्ये २७ वडाको परिणाम आइसकेको छ । वडा नम्बर १९ मा शुक्रबार मतदान भएपछि वडा नम्बर २० को मत पनि एकैचोटि मतगणना हुनेछ ।

भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगन्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर मावि बखानपुरमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । मतदान अधिकृतसहित ३६ कर्मचारी खटिएको मतदानस्थलको सय मिटरवरपर निषेधित क्षेत्र घोषणा गरिएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।