आज साउन १५, खीर खाएर रमाइलो गरिदै, रोपाई पूरा नहुदाँ किसान निराश

Posted on: July 30, 2017 | views: 693

१५ साउन, काठमााडौ । आज साउन १५ अर्थात खीर खाने दिन । नेपाली संस्कृतिका विभिन्न चाडपर्व मध्ये साउन १५ को विशेष महत्व रहेको छ ।
नेपाली संस्कृतिमा असार १५ गते दहि चिउरा खाने चलन भए जस्तै साउन १५ गते आज खीर खाने प्रचलन रहेको छ । नेपाल कृषि प्रधान देश भएको र बहुसख्यक नेपाली कृषी पेसामा आश्रीत रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खीर खाने परम्पराको विकास भएको मानिदै आएको छ । खिरमा रहेको दूध, घिउ, चामल, अलैंची÷सुकिमेल, नरिवल, काजु,–बदाम, किसमिस, केशर, चिनी लगायतको मिश्रणले शरीररलाई न्यानो तथा बर्खायामभर खेती गरेर धाक्ने किसानलाई स्फुर्ति समेत दिने भएकाले खिर खाने सस्कृतिले स्वस्थ्य र फुर्तिलो बनाउन सहयोग पुयाउने विश्वास लिने गरिएको छ ।
आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाईलो गर्ने प्रचलन समेत रहेको छ । कृषकहरुले उल्लासपूर्वक रुपमा खीर खाने प्रचलन रहेपनि यसवर्ष अझै रोपाइको काम बाँकी रहदाँ अघिल्लो वर्षहरुको जस्तो उल्लास भने किसानहरुमा कमै रहेको छ । किसानहरु अहिले बर्षा हुने बित्तिकै खेती गर्न तर्फ लाग्नुपर्ने भएकाले पनि रोपाई गर्न व्यस्त रहेका छन् ।

पर्याप्त वर्षा नहुदाँ मुलुकमा अझै ३२ प्रतिशत खेतमा धान रोपाइँ हुन बाँकी रहेकाले यसवर्ष धानको उत्पादनमा गिरावट हुने सक्ने सम्भावना देखिएको छ ।
मुलुकभर धान रोप्नयोग्य मानिएको १५ लाख ५२ हजार हेक्टर जमिनमध्ये अहिलेसम्म दुई तिहाई १० लाख ६० हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ । अझै वर्षा हुने हो भने साउन मसान्तभित्र धान रोपाइँ गर्न सकिने भएपनि प्रयाप्त पानी नपर्दा रोपाई गर्न समस्या भएको छ ।     
चार लाख ९२ हजार हेक्टर जमिन रोपाइँको लागि तयार भएपनि वर्षा नभएका कारण अझै धेरै खेत बाँझो रहेको कृषी विकास मन्त्रालयले जनाएको छ ।
कुल गार्हस्थ्य उत्पानदनमा धानको योग्दान १२ प्रतिशत रहेको छ भने कूल कृषि क्षेत्रको उत्पादनमा धानको योगदान २१ प्रतिशत रहेको छ । कृषि क्षेत्रको कुल गार्हस्थ्य उत्पादन भने ३३ प्रतिशत मात्र रहेको छ ।
मुलुकभर नै औपचारिक रुपमा धान रोपाइँ शुरु भएको एक महिना पुगेपनि रोपाईको गति भने निकै सुस्त भएको छ । एक महिनाको अवधिमा ६८ दशमलव २९ प्रतिशत मात्र रोपाइँ भएको छ ।
कृषि विकास मन्त्रालयले औपचारिक रुपमा असार १५ गते भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका झौँखेलबाट ‘दुईवाली धानको बिस्तार आर्थिक समृद्धिको आधार’ भन्ने अभियानका साथ १४ औँ राष्ट्रिय धान दिवस सुरुगरेको थियो ।
कृषि विकास मन्त्रालयको तथ्याङ्क अनुसार अहिलेसम्म सतप्रतिशत रोपाइँ हुनेमा जुम्ला, डोल्पा, हुम्ला, बझाङ, कैलाली र कञ्चनपुर गरी ६ जिल्ला मात्र रहेका छन् ।
नेपालमा चैते धान, वर्षे धान र घैया धानको खेती गरिँदै आएको छ । धानको उत्पादनमा १० प्रतिशतले वृद्धि हुँदा कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशत बढ्ने गरेको  छ । धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादनमा टेवा पुग्छ भने घट्दा कुल गार्हस्थ्य उत्पादन अर्थात जिडिपी तल झर्ने गरेको छ ।
सरकारले किसानलाई बृहत्तर धान उत्पादन कार्यक्रममा सहभागी हँुदा ५० हजार, चैते, मसिनो बास्नादार उत्पादनमा पाँच हजार अनुदान दिने नीति समेत अवलम्वन गरेको छ ।