रामेछापमा लिखुमा छत्तिवन खोलाले बगाएका मध्ये २ जनाको शव भेटियो

Posted on: July 16, 2017 | views: 299

रामेछाप ।

रामेछापको लिखु गाउँपालिकास्थित छत्तिवन खोलामा गए राति आएको बाढीले बगाउँदा बेपत्ता भएका पाँच जनामध्ये २ जनाको शव भेटिएको छ । 

बेपत्ता भएका लिखु गाउँपालिकास्थित खिम्तीका ६८ वर्षीया बालकुमारी खत्री र रामेछाप नगरपालिका १२ का  बासुदेव कार्कीको शव भेटिएको हो ।

प्रहरीका अनुसार खिम्तीका सुमनकुमार खत्री, गोकुलगंगा गाउँपालिका ६ फर्पुका अशोक तामाङ र उनकी १२ वर्षीया छोरी मनिला तामाङ अझै बेपत्ता छन् । 

बाढीबाट घाइते ७ जनाको अवस्था गम्भीर रहेकाले हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौ ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । 

ढुंगेलका अनुसार बाढीले ५ वटा घर बगाएको छ भने छत्तिवन खोलाको पुल समेत बगाएको छ । 

गएराति नै खिम्तीस्थित खानीखोलामा आएको बाढीले सदरमुकाम मान्थली र खिम्ती आहोरदोहोर गर्ने डाइभर्सन बगाएको छ । डाइभर्सन बगाएपछि खिम्तीबाट मन्थली आवतजात गर्ने यातायातका साधन ठप्प भएको छ । 

बाढीले खिम्ती बजार क्षेत्रमा रोकि राखिएका केही सावरी साधन बगाएको र बजारका केही पसलहरुमा  क्षेति पुर्याएको प्रहरीले जनाएको छ ।