तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको यस्तो पासवीक हत्याको खुलासा

Posted on: June 30, 2017 | views: 930

तुलसीपुर ।

२१ दिन अघि अपहरणमा परेका तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरकारीले हत्या गरेको प्रहरीले बताएको छ । केहि दिनअघि धादिङबाट पक्राउ परेका तुलसीपुर उप महानगरपालिका १२ निबासी २५ बर्षका अबिरल महतराको बयानका आधारमा प्रहरीले घटनाको पुष्टि गरेको हो ।

महतराले श्रेष्ठको हत्या गरि गाडेको स्थान छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा लगेर देखाएका पछि घटनाको सम्पुर्ण बिबरण बाहिर आएको हो ।  राष्टिय अनुसन्धान व्युरोका प्रहरी उपरिक्षक दिपेश लोहनी र जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरिक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा शुक्रबार विहान ४ बजे ओरोपी सहित गएको टोलीले श्रेष्ठको शव गाडेको ठाउँमा पुगेर उत्खनन गरेको थियो ।

शवलाई हेलीकोप्टर मार्फत तुलसीपुर ल्याइएको थियो । प्रहरीले घटनामा संलग्न ७ जना मध्य ४ जनलाई पक्राउ गरेर अनुसन्धान अघिबढाएको छ । पक्राउ पर्नेमा घोराही ४ बस्ने बर्ष ४० को रमेश भन्ने मनबहादुर पुन, साविक पवननगर १ घर भई हाल तुलसीपुर ६ निवासी २३ बर्षको रुगत थापामगर , घोराही उपमहानगरपालिका १४ नयाँबजार निबासी ३८ बर्षकी जमा पुन, रहेका छन् ।

त्यैगरी  साविक झिम्पे ४ निबासी ३५ बर्षको मानबहादुर भण्डारी,  तुलसीपुर ६ निबासी १७ बर्षकी पुजा घर्तिमगर, पुजाको वुवा बर्ष ४० का टीकाराम घर्तिमगर भने फरार रहेको प्रहरीले बताएको छ । प्रहरीले राजकुमारको हत्या पैसकोका कारण भएको बताएको छ । 

घटना कसरी भयो ?


गत जेठ २६ गते बेलुका पुजा घर्तिमगरले श्रेष्ठलाई बोलाए पछि उनि सम्पर्कमा आए । सम्पर्कमा आए लगत्तै उनलाई अपहरण गरियो । श्रेष्ठ सम्पर्क विहिन भएपछि भोलीपल्ट कपुरकोट गाउँपालिका ५ मेल खोलामा श्रेष्ठ सवार निजी सवारीसाधन बा११च १०७१ नम्बरको गाडि फेला परयो ।

अपहरकारीले दिनभरी लुक्ने र रातभरी हिडाउने गरे । अपहरकारीले खानका लागि १० किलो चिउरा समेत लिएर गएका थिए । समयमा खान नपाएका व्यापारी श्रेष्ठ सुगरको विरामी समेत भएकाले कम्जोर हुदै गए र २९ गते दिउँसो ढले ।

अपहरकारीले उपचार गर्नुको साटो ढुङगाले टाउकोमा हिर्काएर निर्मम तवरले हत्या गरेर खोंचमा फालिदिए । उनले २७ गते श्रेष्ठको रेकर्ड गरिएको आवाज सुनाएर २ दिन भित्र ३ करोड बुझाउन परिवारलाई फोन गरे । परिवारले एक पटक आवाज सुन्छौ उहाँसंग कुरा गर्छौ र पैसा पनि भनेजति दिन्छौ भने तर अपहरणकारीले उनको हत्या गरि सकेकाले दोहोरो कुरा सुनाउन नसकेपछि फोन काटे र सम्पर्कमा आएनन् । (राप्ती अंचल प्रहरी प्रमुख ज्ञान विक्रम शाह, जिल्ला प्रहरी कर्यालय दाङका प्रहरी उपरिक्षक धिरजप्रताप सिंह र प्रहरी उपरिक्षक लोहनीले गरेका  कुराका आधारमा )


यसैविच प्रहरीले साढे ६ बजे इलाका प्रहरी कार्यालय तुलसीपुरमा पत्रकार सम्मेलन गर्ने भने पनि सयौं हजार बढि नागरिकको उपस्थित भएपछि सुरक्षाको कारण देखाउदै प्रहरीले सात बजे गुल्ममा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । 

शोकमा तीन दिन बजार बन्द 

तुलसीपुर उद्योगबाणीज्य संघले श्रेष्ठको हत्या भएको सोकमा तीन दिन तुलसीपुर बजार बन्द गर्ने भएको छ । संघका अध्यक्ष बिमल रिजाल द्धारा जारी प्रेस विज्ञेप्तीमा  शोकमा बजार बन्द गर्ने उल्लेख गरिएको छ । 

यसअघि अपहरित व्यापारी राजकुमार घटनाका सम्बन्धमा नेपाल प्रहरीले उच्च स्तरीय अनुसन्धान टोली गठन  गरेको थियो ।  क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्तीअंचल प्रहरी प्रमुख ज्ञान बिक्रम शाहको संयोजकत्वमा अनुसन्धान टोली गठन गरेको थियो । प्रहरीले सूचना दिनेलाई एक लाख रुपैयाँ सम्म दिने घोषणा गरेको थियो ।