लघुकथा -रङ्गहिन होली

Posted on: May 03, 2016 | views: 265

एलिसा पौड्याल-

ह्याप्पी होली मम्मी
पछाडीबाट हत्केलाभरी अवीर ल्याएर दलिदिइन् क्रान्तिले आफ्नी आमाको अनुहारभरि । फरक्क फर्किएर एक झापड हानिन् सन्जुले क्रान्तिको गालामा अनि फलाक्न थालिन्- अलच्छिनी, तेरो बाउको सराद्देको दिन मलाई अवीर दल्दिन्छेस्? विचरी क्रान्ति अविरले भन्दापनि रातो भइन् आमाको थप्पडले। रुँदै दौडिइन् हजुरआमा भएतिर ।

आमा, मलाई मम्मिले किन पिटेको? म कसरी अलच्छिनी भएँ आमा? आज होली भएर मैले रङ्ग दल्देको त हो नि। घुँक्कघुँक्क रुन थाली क्रान्ति हजुरआमाको छातीमा मुन्टो लुकाउँदै। अझ रुन्छेस्??- भित्रबाट कराउँदै थिइन् सन्जु। नकरा नकरा- भुरा न हो के थाहा यसलाई। अरुले खेलेको देखेर खेलेकी बरा। बुढी आमैले नातिनी कै पक्ष लिइन्। धेरै बेरको रुवाइपश्चात् फेरी सोध्छे क्रान्ति - आमा, भन्नुस् न मम्मिले मलाई किन पिटेको? किन अलच्छिन भनेको? भन्नुस् न आमा भन्नुस् न? पहिले त मम्मिले मलाई कहिले पिट्नुहुन्नथ्यो, गाली गर्नुहुन्नथ्यो। आमा भन्नुस् न

आज तेरो बाबाको सराद्दे होनि त। तैँले रङ्ग दल्न हुँदैनथ्यो दल्दिइस् अनि रिसाइ नि। आमा, बाबा के भएर मरेको? क्रान्तिको अप्रत्यासित प्रश्नले झस्किइन् हजुरआमा। आँखा रसाए उनका, भक्कानो फुटेर आयो अनि रुन लागिन्। छक्क पर्दै हेर्न थालिन् क्रान्ति हजुरआमालाई। अनि सोधिन्:-
* के भो आमा? किन रोको?
- तेरो बाउको याद आयो बा।
* आमा, भन्नुस् न बाबा किन मरेको? बाबा आजकै दिन मरेको हो आमा?
- हो, आजकै दिन मरेको हो तेरो बाउ।
* किन मरेको आमा?
- यो देशलाई रङ्ग्याउन अनि सबैलाई खुसीको रङ्ग दल्नका लागि मरेको तेरो बाबा
* त्यसोभए मैले रङ्ग दल्दा मम्मिले किन पीटेको त मलाई?
- कति कराएकी? नकरा?? जा, गएर साथिहरुसँग खेल्
* नाइँ, मलाई रङ्ग दल्दा किन पिटेको त मम्मिले? म खेल्दिनँ
- तेरो बालाई आजकै दिन मारेका थिए। घरभरि रगतैरगत थियो। तँ पेटमा थिइस्। त्यहि दिन तेरि आमाले तँलाई जन्माइ तेरो बाबाको रगतमाथि- भो अब? थाहा पाइस्? जा, अब खेल् हजुरआमा रिसाइन् क्रान्तिसँग

आधा सत्य, आधा जवाफ केही पुर्ण थिएन । विचरी क्रान्ति कुनामा गएर बसिन्। आँसु झरिरहे। नानू, मम्मिको आवाजले झस्कि ऊ। हजुर... कहाँ छौ? यहाँ आऊ त? मम्मिले बोलाएपछि दौडिएर भित्र पसिन् क्रान्ति । मम्मि रुँदै थिइन् बाबाको तस्बिर समाउँदै ।

सरि नानू मैले अघि थप्पड हानेँ। तिमीलाई थाहा छ मैले किन पिटेको। छैन को भावमा टाउको हल्लाइन् क्रान्तिले। छोरी, तिम्रो बाबा आर्मी हस्पिटलको डाक्टर हुनुहुन्थ्यो । आजभन्दा १४ वर्ष अगाडि होलीको रात तिम्रो बाबालाई अपरिचित मान्छेहरुले गोली हाने। मलाई व्यथा लागिरहेको थियो । तिमी तिम्रै बाबाको रगतमाथि जन्मियौ। त्यो होलीले मेरो, तिम्रो र हाम्रो परिवारको जिन्दगीलाई रङ्गहिन बनाइदियो नानू। त्यो दिन तिम्रो बाबाको रगतमा होली खेले मान्छेहरुले। मम्मि रुन थाल्नुभो.. क्रान्ति स्तब्ध भइन्...