पश्चिमी र पूर्वीवायुको प्रभावले बद्लीसँगै वर्षा

Posted on: June 09, 2017 | views: 77

काठमाडौँ । पश्चिमी वायु  र  पूर्वी वायुको प्रभावका कारण  देशको अधिकांश भागमा बद्ली सँगै केही स्थानमा वर्षा भएको छ । 


उक्त वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बद्लीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

दुवै वायुको प्रभावसँगै मनसुनी गतिविधि पनि सक्रिय हुन थालेकाले वर्षात् र बद्ली भएको र यो केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार आज देशका पहाडी भेगमा बद्ली र अन्य स्थानमा आंशिक बद्ली रहेको छ, भने केही स्थानमा वर्षात् भएको छ । शनिबार पहाडका केही भेग र तराईका धेरै स्थानमा वर्षात् हुनेछ । 

काठमाडौँमा अपराह्न भारी वर्षात् भएको छ, जसका कारण उपत्यकाका कतिपय स्थानमा केहीबेर सडक अवरुद्धसमेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँमा ११ मिलिमिटर वर्षात् भएको छ । 

त्यस्तै धरानमा १७ र डडेलधुरामा नौ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ र अधिकतम ३० डिग्रीसेल्सियस रहेको छ ।