म्यादी प्रहरीले आन्दोलन गरेपछि‍‍......

Posted on: June 01, 2017 | views: 343

लाहान। सिरहाबाट छनोट भई सप्तरीमा खटिएका म्यादी प्रहरीले बुधबार बिहान इलाका प्रहरी कार्यालय लाहानअगाडि प्रदर्शन गरे। उनीहरूको असन्तुष्टि थियो, काममा खटिँदा खान नदिएको र बस्न नदिएको।

म्यादी प्रहरीका लागि सरकारले उपलब्ध गराएको पोशाकमै जिल्ला प्रहरी कार्यालय सिरहाअगाडि उनीहरूले प्रदर्शन गरेका थिए। सिरहामा छनोट भई सप्तरीमा खटिएकामध्ये ८०  म्यादी प्रहरीले प्रदर्शन गरेको बताइएको छ। उनीहरूले आफूहरूलाई एक जिल्लामा छनोट गरेर अर्कै जिल्लामा पठाएर विभेद गरेको आरोप लगाए।

उनीहरू जिल्ला प्रहरी कार्यालय सप्तरीअन्तर्गत इलाका प्रहरी कार्यालय रूपनी, कल्याणपुरलगायतका ठाउँमा खटिएका थिए। सप्तरीस्थित इलाका प्ररी कार्यालय रूपनीबाट करिब २५ किलोमिटर पैदल दूरीमा उनीहरू लाहान आइपुगेका थिए। आफूहरूलाई प्रहरी कार्यालयमा बस्न नदिएको, खानका लागि ‘जहाँ मन लाग्छ, त्यहीँ जाऊ’ भनेर हप्काएको एक म्यादीले बताए।

निर्वाचनको विरोध गर्दै आएको राजपा सप्तरीले प्रहरीलाई कुनै पनि सामान नबेच्न आह्वान गरेअनुरूप पसलेहरूले आफूलाई सामान नदिँदा समस्या भएको उनीहरूले बताए। इलाका प्रहरी कार्यालय लाहानका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेले म्यादी प्रहरीले गरेको आन्दोलनको अर्थ नभएको बताए। ‘म्यादी छनोट जिल्ला प्रहरी कार्यालय सिहाले गरेको हो’, उनले भने, ‘जिल्ला प्रहरी कार्यालय सप्तरीमा पठाइएकाले उनीहरूलाई कस्तो व्यवहार भयो भन्ने त्यहीँका प्रहरीले जान्ने कुरा हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विश्वमणि पोखरेलले म्यादी प्रहरीले गरेको आन्दोलनबारे जानकारी नभएको बताए। उनले आफूलाई यस विषयमा लाहान प्रहरीले जानकारी नै नदिएको बताए।