भारत भ्रमको खेती गर्दै-बुद्ध भारतमा जन्मेको भन्दै भारतीय मन्त्रीले बुद्ध संग्रहालय उद्घाटन गरे

Posted on: May 01, 2016 | views: 168

६ चैत, सिद्धार्थनगर (भारत) ।

शान्तिका अग्रदुत गौतम बुद्ध नेपाल जन्मिएकोमा दुईमत नरहे पनि भारतले भ्रम फैलाउने काम जारी राखेको छ । यसैको पछिल्लो कडीका रुपमा जन्माइएको छ नक्कली कपिलवस्तु ।

बुद्धका बाबु शुद्धोधनको दरबारको भग्नावशेष भेटिएको भन्दै भारतको युपीमा नक्कली कपिलवस्तु निर्माण गरिएको हो । जबकि बुद्धको जन्म नेपालको रुपन्देहीस्थित लुम्बिनीमा भएको थियो भने शुद्धोधनको दरवार नेपालको कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा पर्छ ।

नक्कली प्रमाणमा आधारित कपिलवस्तु संग्रहालयको शुक्रबार उद्घाटन गरिएको छ । भारतीय पुरातत्व सर्वेक्षण लखनउ मण्डलले आयोजना गरेको उद्घाटन समारोहलाई भारतीय पर्यटन, संस्कृति तथा नागरिक उड्ययनमन्त्री डा. महेश शर्माले संवोधन गरेका थिए ।

उनले बुद्धको जन्मस्थल र कार्यस्थल भारतको कपिलवस्तुस्थित पिपरहवा र गनवरिया रहेको दावी गरे । शर्माले भने, ‘यो क्षेत्र शाक्यवंशका राजाहरुको अधिनमा थियो । राजा शुद्धोधन र रानी महामायाले यहाँ राज्य गरेका थिए ।’

उनले बुद्धले आफ्नो २९ वर्ष पिपरहवामा र गनवरियामा बिताएको बताए । सन्यासी जीवन बिताउन तथा मानवलाई प्रेरणा दिन यहाँबाट पछि अन्तै गएको उनको भनाइ थियो । शर्माले बुद्धसँग सम्वन्धित ८ स्थानहरु मध्ये ७ वटा भारतमा रहेको र त्यसमध्ये पनि ४ वटा उत्तर प्रदेश राज्यमा रहेको दाबी गरे ।

Indaian-kapilvastu-1

मन्त्री शर्माका अनुसार बुद्धको जन्मस्थल पिपरहवा र गनवरियाका विकासका लागि सरकारले १ अर्ब ७० करोड भारतीय रुपैयाँ विनियोजन समेत गरेको छ । ‘पहिलो सुरुवात संग्रहालयबाट भइसकेको छ र अब बुद्धको नाममा थिम पार्क लगायत पर्यटकीय आकर्षणका वस्तुहरु निर्माण गरिनेछन्,’ उनले भने ।

कार्यक्रमलाई सम्वोधन गर्दै भारतीय जनता पार्टीका सांसद जगदम्बिका पालले पनि गौतम बुद्ध भारतको जन्मिएको दाबी गरे । उनले बुद्ध कपिलवस्तुको पिपरहवामा जन्मिएको तथा बाल्यकाल पिपरहवा र गनवरिया क्षेत्रमा बिताएको उनको भनाइ थियो ।

सन् १९७० को दशकमा गरिएको पुरातात्विक अन्वेशषणका क्रममा ‘ओम देभपुत्र विहार कपिलवस्तु संघ’ र ‘महा कपिलवस्तु विखु संघ’ लेखिएका दुई वस्तुलाई बुद्ध भारतमा जन्मिएको प्रमाण भन्दै देखाइएको छ । कपिलवस्तु संग्रहालय उद्घाटनमा यीनै दुई वस्तु प्रमुख आकर्षण रहने बताइएको थियो । तर तिनीहरुलाई लुकाइएको छ । कार्यक्रममा सांसद पालले प्रमाणका दुई वस्तु भारतको कोलकत्ताको कुनै संग्रहालयमा राखिएको दावी गरे ।

कार्यक्रममा मन्त्री शर्मा र संसाद पालले कपिलवस्तु नामक किताब, सिडी र वेभसाइटसमेत सार्वजनिक गरेका थिए ।
Source:onlinekhabar