कमल थापाको राजनीति संकटमा,राप्रपा नेपालको विलय राप्रपासँग कि कांग्रेससँग ?

Posted on: May 03, 2016 | views: 354

काठमाडौं । नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का लोकप्रिय नेता बन्न पुगेका छन् । खुमबहादुरसँगै उनको एउटा बलियो समूह पनि केन्द्रीय समितिमा पुगेको छ । भ्रष्टाचार आरोपमा एक वर्ष जेल सजायँ पूरा गरेपछि खड्का कानूनी रुपमा चुनावसमेत लड्न पाउँदैनन् । त्यसैले जेलबाट निश्किएपछि उनले पार्टीभित्रै हिन्दु अभियान चलाएर आफ्नो राजनीतिक पोजिसन स्थापना गर्ने प्रयास गरे ।

नेपाली काग्रेसकै ब्यानरमा उनले एक वर्षअघि कार्तिकमा ‘सनातन हिन्दु राष्ट्र स्थापना महाअभियान’ घोषणा गरेका थिए । उनीसँगै शंकर भण्डारी, पुष्पा भुसाल, तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, लक्ष्मण घिमिरे, देवेन्द्रराज कण्डेल, लोकेश ढकाल, हरिबोल भट्टराई, बुद्धिराम भण्डारी, सुशीला चौधरी लगायत हिन्दु राष्ट्र स्थापना महाअभियानमा खुलेरै लागे ।

कांग्रेसको १३ औं महाधिवेशनबाट हिन्दु राष्ट्र स्थापना अभियानका नायके खड्का लोकप्रिय मत प्राप्त गरी विजयी भए भने उनीसँगै खुलेरै महाअभियानमा लागेकामध्ये शंकर भण्डारी, पुष्पा भुसाल, पार्वती बीसी चौधरी, अजयकुमार चौरसिया, मोहन बस्नेत, देवेन्द्रराज कण्डेल निर्वाचित भए ।

खड्कासँग खुलेर नलागे पनि उनको अभियानलाई भित्रभित्रै साथ दिएका अन्य थुप्रै नेताहरु ६४ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । देउवालाई जिताउँन आफै सडकमा नारा लगाएका खुमबहादुरको केन्द्रीय समितिमा राम्रै पडक बनेकाले मनोनिततर्फ पनि आफ्नालाई मनोनितका लागि हरदम प्रयास गर्नेछन् भने गणतन्त्र र संघीयतामै पुनर्विचार गर्नुपर्ने धारणा राख्ने बीपीपुत्र डा.शशांक कोइरालाको महामन्त्रीमा भएको जितले खड्कालाई बल मिलेको छ ।

पछिल्लो समय सनानत हिन्दु राष्ट्रकै नाराले कमल थापा नेतृत्वको राप्रपा नेपाल संसदमा चौंथो पार्टी बन्न पुग्यो । नेपाली कांग्रेसमा हावी हुँदै गएका खुमबहादुरको एजेण्डा नै कांग्रेसले बोक्न थाल्यो भने थापाको राजनीति पनि ओझेलमा पर्ने देखिएको छ ।

हिन्दु राष्ट्रको एजेण्डा बोकेरै पार्टीमा आफ्नो पोजिसन बनाएका खुमबहादुरले एक पटक झापामा भएको कार्यक्रममा आफ्नो महाअभियानलाई अवरोध गर्नेहरुको हात काटिदिनेसमेत चेतावनी दिएका थिए । हिन्दु राष्ट्रको एजेण्डामा निकै कट्टर देखिएका खड्काले पार्टीमा आफ्नो एजेण्डालाई पास गराउने सम्भावना पनि उत्तिकै बढेको छ ।

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी राप्रपा नेपाल भने यतिबेला राप्रपासँग एकताको प्रयासमा छ । दुई राप्रपा एकताका सम्बन्धमा साझा धारणा बनाउन समिति नै गठन गरिएको छ । तर हिन्दु राष्ट्रको एजेण्डा नबोकेको सुधारिएको राप्रपासँग थापाको विलय हुने कि कांग्रेसमा भन्ने बहस आवश्यक छ ।
साभार: खबर डबली