देउवाद्वारा  ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन, को-को परे (नामावली सहित)

Posted on: May 02, 2016 | views: 342

काठमाडौं,चैत ३ । नेपाली कांग्रेसका नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन्। सभापतिमा पराजित रामचन्द्र पौडेल र कृष्ण सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी र गगन थापा तथा कोषाध्यक्षमा पराजित चित्रलेखा यादव र उमाकान्त चौधरीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेसले जनाएको छ। 

तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनपछि अस्वस्थ बनेका नेता नरहरि आचार्यलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ। आचार्य मष्तिस्कघात भएपछि महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार थिएनन्। फागुन २० देखि २३ गतेसम्म भएको महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सोमबार घोषणा भएको थियो । निर्वाचनले सभापति, महामन्त्री, कोषाध्यक्षसहित ६४ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

काँग्रेसमा सभापतिले निर्वाचित केन्द्रीय सदस्यमधेबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन प्रस्ताव गर्न पाउने व्यवस्था अनुसार देउवाले आफ्नो अधिकार प्रयोग गरेका हुन् । यसबाहेक २१ जना केन्द्रीय सदस्य मनोनित गर्ने अधिकार पनि सभापतिलाई रहेको छ ।  देउवाले सोही अधिकार प्रयोग गर्दै सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।